चामे पुग्यो सार्वजनिक यातायात

ट्रयाक खोलिएको २२ वर्षपछि जिल्लाको सदरमुकाम चामेसम्म सार्वजनिक बस चलेपछि यहाँका स्थानीयमा खुशी

Nepal Nirman
२०८२ वैशाख ९ गते ८:२२

गण्डकी प्रदेशको विकट मानिएको जिल्ला मनाङमा विधिवत रुपमा नै सार्वजनिक बस नियमित रुपमा सञ्चालन भएको छ ।

ट्रयाक खोलिएको २२ वर्षपछि जिल्लाको सदरमुकाम चामेसम्म सार्वजनिक बस चलेपछि यहाँका स्थानीयमा खुशी छाएको छ । बस नियमित चल्ने भएपछि यहाँका स्थानीयले लमजुङ र मनाङको सिमानामा नै फुलमालासहित स्वागत गरेका छन् ।  

२०८१ चैत ७ गते पहिलो पटक यात्रु लिएर बस आइपुगेको मनाङमा सहज रुपमा सार्वजनिक बस सेवा नियमित हुने गरी सञ्चालनमा ल्याइएको हो । लमजुङ सदरमुकाम बेसीशहरबाट रिजर्भ यात्रु लिएर बेसीशहर पोखरा रुट चल्ने कान्छा सफारीको ना ६ ख ९५७९ नम्बरको यात्रुबहाक बस पहिलो पटक मनाङ सदरमुकाम चामे ल्याउन सफल भएको थियो । परीक्षण सफल भएपछि  नियमित सञ्चालन गरिएको हो ।

मनाङमा निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युतका सामान लिएर दश चक्के ट्रकहरु समेत सहज रुपमा पुग्ने गरेका छन् । बस पनि लान सकिन्छ भन्ने लागेर परीक्षणमा पठाइएको बस चालकले सकिने बताएपछि समन्वय गरिएको हो । डेढ दशक अघि नै मोटर चल्न थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन् ।

बेसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडकमा यात्रा गर्न अब बोलेरो जीपसँगै बस मार्फत सेवा प्रवाह हुने भएको छ । बेशीसहर–चामेसम्मको भाडादर सात सय ४० कायम गरिएको छ ।