कालिगण्डकी करिडोरमा थपिए तीन पुल

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङका तीन वटा पुल निर्माण सम्पन्न भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङमा तीन वटा पुल निर्माण भएको हो।

घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण भएको छ।

तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले जानकारी दिएको छ। मार्फाखोलामा एक सय २० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते रु १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो ।

राष्ट्रिय सभामा अघि बढ्यो पानी जहाज विधेयक

विहिबारको राष्ट्रिय सभा बैठकबाट पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ अघि बढेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधेयक–पेश गरेसँगै पानी जहाज सञ्चालन सम्बन्धी प्रक्रिया अघि बढेको हो । मन्त्री दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत अघि सारेका छन् । राष्ट्रिय सभामा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री दाहालले पानी जहाज दर्ता ऐन, २०२७ मा समुद्रमा नेपाली पानी जहाज सञ्चालनको आधार नरहेकाले नयाँ विधेयक ल्याईएको बताए । उनले समुद्र माथि भुपरिवेष्ठित देशहरुको अधिकार रहने भन्दै त्यसको उपयोगका लागि कानूनी धरातल तयार पार्ने दाबी गरे ।

विधेयक पारित भई कानूनको रुपमा आए पछि समुद्रहरुमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने छ । यस्तै नेपाल भित्रका नदी तथा जलाशयहरुमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरु नियमन र व्यवस्थापनका लागि समेत कानूनी आधार तयार हुने भएको छ । आइतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिए पछि ‘विधेयक माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरिएको थियो । प्रस्ताव माथि कसैले पनि असहमति नजनाए पछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत् पारित भएको घोषणा गरेका थिए ।

 

मन्त्रालय खारेजीको बहस व्यर्थ र औचित्यहिन : मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वाधार मन्त्रालय नै खारेज गर्ने विषयको बहस व्यर्थ र औचित्यहिन रहेको बताए । केहि दिन अघि अर्थशास्त्री विश्व पौडेलले ग्वार्को प्लाइओभर बनाउन भएको लापरवाहीलाई लिएर मन्त्रालय खारेजी गर्नु पर्ने तर्क सामाजिक सञ्जाल फेसवुकमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । पौडेलको यो तर्क पछि सामाजिक सञ्जालमा देशभरका पूर्वाधार निर्माणमा मन्त्रालयले ढिलासुस्ती गरेको भन्दै चर्को चालोचना भएको थियो । विज्ञहरुले नै मन्त्रालयको खारेजीको विषयमा बहस गर्न थालेपछि मन्त्रालयको नेतृतवकर्ता मन्त्री देवेन्द्र दाहाल खारेजीको विपक्षमा उत्रिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् मन्त्रालय खारेजीको चर्चा औतिथ्य विहिन भएको बताए ।

विज्ञहरुबाटै नै यस प्रकारको धारणा आउँदा आफु तीन छक्क परेको मन्त्री दाहालले उल्लेख गरे । योजना आयोगमा उपाध्यक्ष भएर काम गरिसकेका व्यक्तिले नै यस्तो अभिव्यक्ति दिनु सान्दर्भिक नभएको उनको तर्क छ ।

एसियन हाइवे’ निर्माणले गति लिँदै

बेलबारी(मोरङ), २५ माघ : सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ ।

पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । दुवै कार्यालयका अनुसार यस एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ ।

यसै आर्थिक वर्षभित्र कम्तिमा २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको आयोजनाका दमक कार्यालय प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । त्यस्तै आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले पनि यसै आर्थिक वर्षभित्र कम्तिमा १० किलोमिटर सडकमा पहिलो चरणको कालोपत्र सक्ने लक्ष्य रहेको बताउनुभयो ।

नेपालबाट भारत हुँदै २७ किलोमिटरमै बङ्गलादेशसँग ‘एसियन हाइवे’ जोडिएकाले यसले अन्र्तराष्ट्रिय व्यापारको सम्भावना बोकेको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो । सडक सञ्चालनमा आएसँगै आयात तथा निर्यात सस्तो पर्नुका साथै ग्रामीण व्यवसाय अन्तर्राष्ट्रिय बजारसँग जोडिने उहाँ बताउनुहुन्छ ।

एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरूभएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

ठेक्का लागेको ९५ दशमलव ७६ किमी सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको आयोजनाको पूर्वी खण्ड प्रमुख पन्तले बताउनुभयो ।

पश्चिम खण्डमा पर्ने ३ ठूला पुल रतुवा, बक्रहा र लोहन्द्राको फाउण्डेसनको काम सकिएको आयोजना पश्चिम खण्डका प्रमुख प्रजापतिले बताउनुभयो । एक सय ६९ वटा बक्स कल्वर्ट मध्ये ४७ वटा निर्माण भइसकेको र बाँकी बन्ने क्रममा रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार माटो पुर्ने काम ३५ प्रतिशत सकिएको छ

हालसम्म शहरी क्षेत्रभन्दा जङ्गल क्षेत्रमा भौतिक प्रगति धेरै भएको छ । झापाको चारआली, विर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक पूर्व, इटहरी चोक र इटहरी चोक पश्चिममा ओभर पास बन्नेछन् । सडक निर्माणका क्रममा बिजुलीका खम्बाले अवरोध भइरहेको तर त्यसको चाँडै व्यवस्थापनका लागि विद्युत् प्रधिकरणसँग समन्वय भइरहेको प्रजापतिको भनाइ छ ।

तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । छ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले सडक निर्माण गरिरहेका छन् ।

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २५ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दैछ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उहाँले विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई रु ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिनुभएको छ ।

“ शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ” प्रधानमन्त्रीले लेख्नु भएको छ, “पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रूत गतिमा अगाडि बढेका छन् ।”

विपद् पछिको पुननिर्माण पहिलो प्राथमिकतामा : मन्त्री दाहाल

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयका विभागीय प्रमुख एवम् आयोजना प्रमुखहरुसँगको छलफलका क्रममा उनले बाढी पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्गहरुमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरि काम थाल्न आग्रह गरेका थिए ।
निर्माणको मुख्य सिजनमा सडक एवम् पुल निर्माण गर्न आवश्यक ठेक्का लगाई सक्न सडक विभागलाई निर्देशन दिएका छन् । उनले रुग्ण आयोजनाहरुको व्यवस्थापन तर्फ लाग्न समेत आग्रह गरेका छन् । जनस्तरमा चर्को आलोचना भइरहेको सवार चालक अनुमती पत्रलाई समेत प्रभावकारी बनाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिए ।
मन्त्री दाहालले पानी जहाज सञ्चालन गर्न सम्भावनायुक्त नदीहरुमा अध्ययन गर्न नेपाल पानी जहाज कार्यालयलाई निर्देशन दिएका छन् । समुद्रमा नेपाली पानी जहाज सञ्चालनको कानूनी व्यवस्था छिट्टै हुने दाबी गरे ।
उनले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा अधिग्रहण गर्नु पर्ने जग्गाको मुआव्जा वितरणमा मन्त्रालयले काम गरिरहेको बताए ।

राजश्व चुहावट नियन्त्रण गर्न जुट्यो सरकार

 

केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।
बुधवार बसेको बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट हुन सक्ने अवैध निकासी(पैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनुपर्ने बताए । अवैध पैठारीले लक्ष्य अनुसारको राजश्व संकलन नभएको भन्दै सबै निकाय जिम्मेवारपूर्ण ढङ्गबाट सकृय भएर लाग्दा अवैध कारोबारको नियन्त्रणमा उल्लेखनीय उपलब्धी हासिल गर्न सकिने बताए।

अर्थसचिव डा। रामप्रसाद घिमिरेले आयात(निर्यात हुने वस्तुको अवस्था, वर्गीकरण र प्रयोग लगायतका विषयमा विभिन्न निकायहरूबीचको बुझाइमा एकरुपता हुन जरुरी रहेको आवश्य रहेको बताए ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले वस्तु उत्पादन र आयातको स्रोतमै नियमन गर्न सक्दा अवैध कारोबारलाई नियन्त्रण गर्न सहज हुने बताउँदै समितिको बैठकमा सम्बद्ध अधिकारीबाट गरिएको प्रतिवद्धता कार्यान्वयनको तहमा प्रभावकारी कार्यन्वय भइरहेको बताए ।

बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासी पैठारी नियन्त्रणमा क्रमशः सुधार आए तापनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । उनीहरूले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै बजार अनुगमनलाई बढाउनु पर्ने र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
समितिको बैठकमा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायका अधिकारीहरूको सहभागिता थियो ।

दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र

भोजपुर,  जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो ।

दक्षिणी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक ग्रामीण सडक सञ्जाल सुधार परियोजना (आरसीआइपी) कार्यान्वयन एकाइ, कोशी प्रदेशको बजेटमा निर्माण हुने जनाइएको छ । बाइस दशमलव सात किलोमिटरको यो सडक कालोपत्र रु ७२ करोड ९८ लाख लागतमा गर्न लागिएको हो ।

शुभारम्भ कार्यक्रममा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थिति थियो । गाउँपालिका अध्यक्ष राईले यो सडकले हतुवागढीलाई तराईका जिल्लासँग जोड्न सहजता हुने बताउनुभयो । यो सडकमार्ग कालोपत्र भएपछि जिल्लाका नागरिकलाई आवतजावतमा सहजता हुनेछ ।

अध्यक्ष राईका अनुसार दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्रको शुभारम्भ भएको यो सडकले दक्षिणी क्षेत्रलाई तराईका जिल्लासँग जोड्नका लागि निकै ठूलो भूमिका खेल्छ । निर्माण कम्पनीका प्रतिनिधि दाहालले सडक निर्माणको काम चार स्थानबाट एकसाथ थालनी गर्ने लक्ष्य रहेको बताउनुभयो ।सडकले भोजपुरको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

दूधकोशी चुहार–फलामढुङ्गा–घोरेटार सडक निर्माणले जिल्लाको यातायात सुविधालाई मजबुत बनाउने हतुवागढी–५ होम्ताङका स्थानीय एक्सन राईले बताउनुभयो । सडक निर्माणपश्चात कृषि उपजको बजारीकरणसँगै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।