तुलसीपुर–घोराही २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न ३ अर्ब ९९ करोडको बोलपत्र आह्वान

Nepal Nirman
२०८१ फागुन २ गते ५:३९

दाङ । तुलसीपुर–घोराही २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न ३ अर्ब ९९ करोडको बोलपत्र आह्वान गरिएकाे छ । सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग निर्देशनालयले तुलसीपुर–घोराही सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेको जानकारी दिएकाे छ ।  तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मकाे सडक ३० मिटर चाैडाइकाे हुनेछ ।

निर्देशनालयका इञ्जिनियर प्रकाश मगरका अनुसार सार्वजनिक सूचनामा चैत ३ गतेभित्रै मापदण्ड पुगेका इच्छुक नेपाली व्यवसायीले बोलपत्र पेस गर्न पाउने छन् । उनका अनसार बोलपत्र अनुसार गाडी गुड्ने भाग १४ मिटर कालोपत्रे गरिने छ। जसको दुबै तर्फको सडकको भागमा ७/७ मिटर कालोपत्रे हुनेछ। तर, सडकको कुल भाग भने १५ मिटर एकतर्फ पिच हुनेछ। बाँकी भाग फुटपाथका लागि छुट्याइने छ।

तुलसीपुर–घोराही सडकखण्ड सहरी सडक भएको हुँदा राष्ट्रिय सडक मापदण्ड अनुरूप बिबिएम र आसपाल्ट विधिबाट कालोपत्रे हुनेछ। बिबिएम ६ सेन्टिमिटर र अस्पाल्ट ४ सेन्टिमिटर मोटाइमा कालोपत्रे गर्ने प्रावधान राखिएको छ।

सम्झौता भएको मितिले तीन वर्ष अर्थात् ३६ महिनाभित्र काम सक्ने गरी बोलपत्र आह्वान भएको छ। इञ्जिनियर मगरका अनुसार चैत ३ गतेसम्म बोलपत्र आह्वानको मिति रहेको हुँदा त्यसपछि प्राविधिक मूल्याङ्कनको काम हुनेछ। त्यो काम सक्ने झन्डै २० दिन जति लाग्न सक्ने अनुमान गरिएको छ। तर, प्राविधिक मूल्याङ्कनको पाटोमा केही जटिलता आए वा मुद्दा परेको खण्डमा त्यो अवधि थप लम्बिन पनि सक्छ।

सम्बन्धित विज्ञहरूका अनुसार प्राविधिक मूल्याङ्कनमा पास भएका निर्माण कम्पनीहरूको त्यसपछि बल्ल आर्थिक मूल्याङ्कनको पाटो खुल्ने छ। त्यो मूल्याङ्कनको पाटो कम्तीमा पनि हप्ता दिनसम्म हुन सक्ने अनुमान गरिएको छ।

काम सरासर अगाडि बढेमा जेठको पहिलो हप्तासम्म चार लेन सडकको स्वीकृति पाएको कम्पनीसँग सम्झौता हुन सक्ने आकलन गरिएकाे छ ।  नयाँ आर्थिक वर्ष सुरू भएपछि सडक निर्माणको काम नहुने र वर्षा सकिएपछि मात्रै काम सकारेको निर्माण कम्पनीले चार लेन सडक निर्माणको कामको सुरूआत गर्न सक्ने देखिएकाे छ ।

तुलसीपुर–घोराही सडकखण्ड चार लेनमा विस्तार गर्न भन्दै  झन्डै पाँच वर्षअघि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोग दुई करोड २१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भई काम सुरू भएको थियो। त्यतिखेर चार लेन सडक विस्तारको काम भारतीय ठेकेदार कम्पनीले पाएको थियो। जसले नेपालको प्रतिनिधिकालाई काम सुम्पेको थियो। तर, उनीहरूले काम गर्न नसकेपछि सडकखण्ड अलपत्र अवस्थामा पुगेको थियो।

नेपाल सरकारले पहिलाका भारतीय ठेकेदारसँगको सम्झौता रद्द गरी फेरि भारतीय एक्जिम बैंकलाई लगानीका लागि आग्रह गरे पनि ऊ लगानी गर्न इच्छुक नभएपछि लामो प्रतिक्षापछि नेपाल सरकारको झन्डै ४ अर्ब लगानीमा तुलसीपुर–घोराही सडकखण्ड चार लेनमा विकास गर्नका लागि यतिखेर बोलपत्र आह्वान भएको हो।

चार लेन सडकखण्डको काम गर्नका लागि अब विद्युत पोल सार्नेदेखि रूख काट्ने लगायतका कार्य समेत यसपालि आह्वान भएको बोलपत्रमा रकममा स्पष्ट उल्लेख गरिएको हुँदा ती कार्यका लागि वा विद्युत प्राविधिकरणले पोल स्थानान्तरण गर्न ढिला सुस्ती नहुने अपेक्षा गरिएको सरोकारवालाहरूले बताएका छन् ।

ट्रेन्डिङ