नेपालले गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगाः प्रचण्ड

Nepal Nirman
२०८१ फागुन २ गते ६:४०

काठमाडाैंः पूर्वप्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन्।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा प्रचण्डले नेपालले भारत र बंगलादेशसँग गरेको विद्युत् व्यापारलाई कोशेढुंगा भनेका हुन्।

‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो,’ प्रचण्डले भने, ‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ।’

भारतहुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए।   ‘यसका लागि हामीले थप विद्युत उत्पादनमा ध्यान दिनुपर्ने छ,’ प्रचण्डले भने, ‘तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको छ।’

उनले इप्पानले विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्वपूर्ण रहेको भन्दै पंशंसा गरे।

 

ट्रेन्डिङ