बीपी राजमार्ग पुनर्निर्माण : चारवटा प्याकेजमा ठेक्का
यो सडक कुल साढे आठ अर्ब रुपैयाँ लागतमा स्थायी पुनर्निर्माण गर्ने तयारी छ


काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारले चार वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ । फागुन मसान्तभित्र चार वटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक रामहरि पौडेलले चार वटा प्याकेजमा ठेक्का आह्वान गरिने र त्यसमध्ये एउटा प्याकेज जाइकालाई निर्माण गर्न दिने तयारी भएको जानकारी दिए ।
‘स्टिमेट फाइनल हुनु पर्यो । अब छिटोभन्दा छिटो ठेक्का खुलाउँदै छौँ । पहिला स्टिमेट क्लियर रूपमा हेरेर प्याकेज छुट्याउँदैछौँ । प्याकेज छुट्ट्याइ अझै तिन वटा प्याकेज छुट्ट्याउने तयारी भइरहेको छ । तर कहाँदेखि कहाँसम्म भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन,’ उनले भने, ‘स्ट्रक्चरको हिसाबमा प्याकेज छुट्ट्याउँछौँ । अहिलेसम्म चारवटा भन्ने छ । अझै बढ्न पनि सक्छ । अस्ति नै पेस गरेको डिजाइन रिभ्यु गर्नुपर्छ ।’
यसमध्ये पहिलो प्याकेज नेपालथोक–बर्खे खोला सडक खण्ड को ठेक्का आह्वान गरेको छ । बुधबार सडक डिभिजन खाल्टे सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडक खण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनर्निर्माणका लागि ठेक्का आह्वान गरेको हो । अब बाँकी तीनवटा प्याकेजमध्ये एउटा प्याकेज पुनर्निर्माणका लागि जाइकालाई दिने बताउँदै जापानलाई पर्खिँदा एउटा प्याकेजको ठेक्का आह्वान गर्न ढिलो हुनसक्ने महानिर्देशक पोखरेलको भनाइ छ ।
‘जापानी आए भने एउटा प्याकेज पर्खिनु पर्ने हुन्छ । जाइकासँग तीन-चार चरणमा छलफल पनि भएको छ । तर जाइकाले लगानी गर्ने/नगर्ने अहिलेसम्म फाइनल भएको छैन,’ महानिर्देशक पोखरेलले भने,‘उसले गर्ने भए ७/१० दिनसम्म कुर्छौँ ।’
यसअघि यो राजमार्ग जाइकाले आफ्नै आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरेको थियो । धुलिखेल–बर्दिबाससम्म करिब १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको सन् २००५ मा निर्माण सुरु गरेको थियो ।यो सडक कुल साढे आठ अर्ब रुपैयाँ लागतमा स्थायी पुनर्निर्माण गर्ने तयारी छ ।
असोजको बाढी–पहिराले क्षति पुर्याएको बिपी राजमार्गको खण्ड मर्मतका लागि सरकारले जापान सरकारसँग अनुरोध गरेको थियो।
ओमनको मस्कटमा रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले सोमबार जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग शिष्टाचार भेट गर्दै बिपी राजमार्ग पुनर्निर्माणका लागि आग्रह गरेकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा बिपी राजमार्ग पुनर्निर्माण गरिदिन आग्रह गरेका थिए।

सम्बन्धित
ताजा अपडेट
-
वीरगञ्जको औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सुधार गर्न तीन सबस्टेसन निर्माण गरिँदै
-
भाेजपुरमा म्याद सकिनुअघि नै बन्यो एखुवा खोलाकाे पक्की पुल
-
भौतिकमन्त्री देवेन्द्र दाहाल अमेरिकाकाे कार्यक्रम सकेर स्वदेश फिर्ता
-
क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गरिँदै
-
बुटवल नारायणघाट सडक निर्माणले गति लियो