२० घण्टामा मर्मत भयाे बबरमहलमा फुटेकाे पानीकाे पाइप


काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची आयाेजनाकाे पाइपमा बुधबार दिउँसो क्षति पुगि अवरूद्द रहेकाे पानी प्रशारण लाइन बिहिवार सकिएकाे छ । विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
पाैडेलका अनुसार करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । उनका अनुसार अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ ।
उनले जानकारी दिँदै भने ‘पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौं,’
पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो । प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले भने मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको आयाेजनाले जानकारी दिएकाे छ ।
