७ करोड खर्चिएर सकियाे तिलोत्तमाकाे क्रिकेट स्टेडियममा‘फ्लड लाइट’ जडानको काम, अब राति पनि खेल हुने
६० करोड रुपैयाँ लगानीमा निर्माणाधीन स्टेडियमको जग्गाका लागि मात्र ७ करोड खर्च भएको छ ।


रूपन्देही । रुपन्देहीको तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा पाँचवटा ‘फ्लड लाइट’ जडानको काम सकिएको छ । स्टेडियममा करिब ७ करोड खर्चेर पाँचवटा फ्लड लाइट एक साता लगाएर जडान गरिएको स्टेडियमका निर्देशक विनोद कुँवरले जानकारी दिए ।
फ्लड लाइट जडान सकिएसँगै अब रातिको समयमा पनि क्रिकेट खेल्न सकिने उनले बताए । अहिले लाइट परीक्षणको काम सुरु भएको निर्देशक कुँवरले बताए । यो मैदानमा गत वर्षको फागुनदेखि अहिलेसम्म एक सयभन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्षमुनिको विश्वकप खेलेको महिला टिम र नेपाल प्रिमियर लिग खेलेको टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेका थिए ।
अस्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीको मदाने गाउँपालिका–४, म्यालपोखरीका कुँवरको व्यक्तिगत लगानीमा तिलोत्तमा नगरपालिका–१७, दरखसहवामा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम निजीक्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक मैदान हो । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक कुँवरले बताए ।
स्टेडियमको डीपीआरअनुसार अहिलेसम्म ५० प्रतिशतभन्दा धेरै काम भइसकेको छ । ५ वर्षभित्र पूरा गर्ने लक्ष्यसहित २९ जेठ २०८० मा शिलान्यास भएको मैदानमा तीव्र गतिमा काम भइरहेको स्टेडियमका निर्देशक कुँवरले बताए । ६० करोड रुपैयाँ लगानीमा निर्माणाधीन स्टेडियमको जग्गाका लागि मात्र ७ करोड खर्च भएको छ । मैदानका साथै भौतिक संरचना निर्माणको काम पनि भइरहेको उनले बताए । चार-चार तलाका २ वटा भवन (भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्ससहित) निर्माण भइरहेको छ । जसमा तेस्रो तलाको काम भइरहेको उनले बताए ।
२५ हजार दर्शक क्षमताको प्यारापिटसमेत बन्नेछ । स्टेडियममा खेल सञ्चालनका साथै आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य विनोदको छ । एकेडेमी सञ्चालनमा आएपछि स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन मिल्ने उनले बताए । मैदानमा हालसम्म करिब ५० प्रतिशत लगानी भइसकेको उनले बताए । निर्माणकै क्रममा डिजिटल बोर्ड राख्ने, भीआईपी भवनको संरचनालाई थप फिचर बढाउने जस्ता योजनाका कारण लगानी थप हुन सक्ने उनले बताए ।
अहिले पनि यहाँ सामान्य खेलहरू नियमित भइरहेको स्टेडियमका निर्देशक कुँवरले बताए । मैदान पूर्ण रूपमा तयार हुन अझै डेढ वर्ष लाग्ने उनको भनाइ छ । मैदान व्यवस्थापनमा अटोमेसनको काम पूरा नहुँदा अहिले म्यानुअल नै काम भइरहेको छ । स्पिन बलरलाई फाइदा मिल्ने गरी पिच तयार गरिएको उनको दाबी छ ।
तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका १५ खेल हुने भएका छन् । एक्स्ट्राटेक ओभलसँगै रुपन्देहीको सिद्धार्थ रंगशाला र दाङको लमही क्रिकेट मैदानमा हुने प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म हुनेछ ।
