हुलाकी राजमार्ग निर्माण्को अन्तिम चरणमा

हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ । कञ्चनपुरको डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर सडक तीन खण्डमा निर्माणका लागि २०७३ फागुनमा सम्झौता भएको थियो । केही भागमा विवादका कारण निमार्ण ढिलाइ भएपनि ४४ किमी सडक कालोपत्र भएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय, धनगढीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीन वटा खण्ड मध्ये एउटा खण्ड निमार्ण सम्पन्न भएको जानकारी दिए । पहिलो खण्डमा मर्मत र रङ्गरोगनको काम मात्र बाँकी छ । अन्य दुई खण्डको कालोपत्रेको काम पनि अन्तिम चरणमा छ ।

“बेलौरीको ककत्तामा केही विवादका कारणले दोस्रो खण्डको ८८ मिटर सडक निमार्ण हुन सकेको छैन ।” उनले भने–“उक्त ठाउँमा विवाद भइराख्ने भएकाले निमार्ण कम्पनीले काम गर्न सक्ने अवस्था छैन ।”बाइस किमीको तेस्रो खण्डमा ११ किलोमिटर कालोपत्रेको काम बाँकी छ । डोकेबजारदेखि बेलौरीसम्मको पहिलो प्याकेजको २० किमी ३६ करोड ४७ लाखमा निमार्ण भएको हो । बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो खण्ड २० किमी प्याकेजको लागत ४१ करोड ४१ लाख छ । हुलाकी सडकको तेस्रो खण्ड बेल्डाडीदेखी दैजीसम्म २२ किमी छ ।

दक्षिणी क्षेत्रका नागरिकले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवतजावत गर्न भारतीय बाटो भएर धनगढी हुँदै आउनुपर्ने बाध्यता थियो । सरकारले डोकेबजारदेखी बेदकोट नगरपालिकाको दैजीसम्म ६२ किमी हुलाकी सडक निमार्ण गरेपछि भने यहाँका नागरिकलाई राहत मिलेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुर्नवास र बेलौरी नगरपालिका लालझाडी र बेल्डाडी गाउँपालिका गरि चार पालिका छन । चार वटै पालिकाको दक्षिणतर्फ भारतीय खुल्ला सिमानाका छ । अर्कोतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कारण यहाँका नागरिकको सहज पहुँच महेन्द्रनगरसम्म थिएन ।

२०६२÷६३ सम्म पनि यातायातको असुविधाका कारण यहाँका नागरिकहरु पैदलमार्ग भएर महेन्द्रनगर सदरमुकाम आवतजावत गर्थे । “वर्षातको समयमा यातायात सेवा बन्द हुँदा बेदकोटको दैजीदेखी बेल्डाडीसम्म पैदल आवतजावत गर्नुपर्ने बाध्यता थियो ।” यहाँका स्थानीय सन्तोष विष्टले भने,“त्यो बेलाको पैदल मार्ग पछि हुलाकी राजमार्गमा परिणत भएको हो ।”

सडक सञ्जालको विस्तार गरी आर्थिक–सामाजिक विकास, व्यापार सहजीकरण मार्फत आर्थिक समृद्वि हासिल गर्ने योजना अनुसार सरकारले हुलाकी राजमार्ग निमार्ण गरेपछि यसले आर्थिक एवं सामाजिक परिवर्तन ल्याएको शिक्षक केवश विष्ट बताउँछन । “महेन्द्रनगर आवतजावत गर्न भारतको बाटो भएर जानुपथ्र्यो ।” उनले भने–“हुलाकी राजमार्ग बनेपछि यहाँका नागरिकलाई धेरै राहत भएको छ ।”

उनले हुलाकी राजमार्ग सञ्चालनमा आएपनि यहाँको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण टेवा पुगेको बताए । “अहिले यहाँका किसानहरुले आफ्नो उत्पादन सहज रुपमा बिक्रि गर्न पाएका छन बिहानै धनगढी बजारबाट दुध किन्न गाडी आउँछ ।” उनले भने,“स्वास्थ्य र शिक्षामा समेत सहज पहुँच भएको छ । हुलाकी राजमार्ग भएर एक घन्टामा धनगढी पुग्न सकिन्छ,यो राजमार्ग यहाँको लागि ‘लाइफ लाइन’ नै हो ।” उनका अनुसार हुलाकी राजमार्ग बनेपछि यहाँका कृषि उत्पादनले बजार पाएको छ । सडक सञ्जालको पहुँचले यहाँका नागरिकहरुलाई धेरै सहज भएको छ ।

हुलाकी राजमार्ग निमार्ण पछि यहाँको जग्गाको मुल्य वृद्धि भएको यहाँका स्थानयि बताउँछन । यहाँका स्थानीय सुरत मल्लका अनुसार हुलाकी सडक बन्नुपूर्व यहाँका कठ्ठाको चार÷पाँच लाख रुपयामा खरिद बिक्रि हुन्थ्यो । राजमार्ग बनेपछि २० लाखसम्ममा बिक्रि हुने गरेको छ । “त्यो बेला त धेरै दुःख पाएका हौ हामीले यहाँ अहिले त सडकले आनन्द छ ।” उनले भने–“स्थानीय सरकार आएपछि भित्रभित्रका सडक पनि कालोपत्रे हुन थालेका हुन् ।”
रासस

सरकारले पूर्वाधार निर्माणलाई गति दिएको भौतिकमन्त्रीको प्रष्टोक्ती

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले पूर्वाधार निर्माण तथा विकासका सवै क्षेत्रलाई गति दिएको बताउएका छन् । काठमाडौको कपन क्षेत्रमा सडक अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री दाहालले गठवन्धनमा रहेका दलहरु विचमा दर्विलो विश्वास र सहकार्य रहेकै कारण विकास निर्माणले गति लिएको बताए ।
स्थानीयबासीले सो क्षेत्रमा खोला व्यवस्थापन तथा सडक निर्माण गर्न मन्त्री दाहाल समक्ष माग गरेका थिए । कपन क्षेत्रका स्थानीयहरुको माग बमोजिम स्थानीय निकायहरुसँग समन्वय गरी यस क्षेत्रको समस्या समाधान गर्ने मन्त्री दाहालको तर्क छ । पूर्वाधारहरुको विकासले नागरिकको जीवन स्तरमा पनि परिवर्तन ल्याईरहेको बताउँदै सडक सञ्जालको विकासले शिक्षा, स्वास्थ्य जस्ता सेवा भएको दाबी गरे ।

देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतीका क्रममा रहेकाले केहि स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सके सम्म यातायात अवरुद्ध हुन नदिने गरि काम भई रहेको बताए । वर्षायाम शुरु हुनै लागेकाले निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिनेगरी संयन्त्र परिचालन गर्ने तयारी गरेको बताए ।
सडक निरीक्षण टोलीमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपाने, सडक डिभिजन कार्यालय काठमाडौका प्रमुख नारायणदत्त भण्डारी, ईन्जिनियर प्रमोद खतिवडा लगायतका कर्मचारी तथा प्राविधिकहरु सहभागी थिए ।

दरखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्‍याएपछि अन्य संरचना निर्माण थालिएको हो ।

कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले बताए ।कुनौटोदेखि दरखोलाको दायाँ किनार हुँदै दर गाउँको फेदीतर्फ पेनस्टक पाइप राख्ने करिब दुई किलोमिटर कच्चि सडकको ट्याक निर्माण भइसकेको छ । तीन वटा डोजर परिचालन गरिएको छ । सोलवाङमा निर्माण हुने विद्युत्गृहसम्म पानी लैजान तीन किलोमिटर एक सय मिटर लामो पेनस्टक पाइपलाइन जडान गरिने अध्यक्ष भण्डारीले बताए ।

पाँच सय ४८ मिटर उचाइबाट विद्युत्‌गृहमा पानी खसालेर उत्पादन गरिने विद्युत् सात किलोमिटर लामो प्रशारण लाइन बनाएर डाडाखेत सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गराइनेछ । सम्भाव्यता अध्ययन, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन, विद्युत् खरिद बिक्री सम्झौता, जग्गा खरिद र वित्तीय स्रोत व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माण थालिएको हो ।

विसं २०८३ को फागुनभित्र विद्युत् उत्पादन गर्ने कार्यतालिका छ । रन अफ द रिभर ९नदी प्रवाहमा आधारित० प्रकृतिको यो आयोजना निर्माणमा करिब एक अर्ब लगानी हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले सडक स्तरोन्नति

बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति गरिएको छ । सो कार्यक्रममार्फत ७५ जनाले एक सय दिनको रोजगारी पाएका छन् । उनीहरुले वडा कार्यालयको साझेदारीमा सडक स्तरोन्नति गरेका छन् ।

चालु आर्थिक वर्षमा आठवटा सडक स्तरोन्नति तथा पदमार्ग निर्माण योजना सम्पन्न भइसकेको छ । अझै आठवटा योजना कार्यान्वयनको चरणमा छन् । जसमध्ये भिमापोखरा, बिहुँ, लेखानी, तङ्ग्राम र पालामा वडा कार्यालयको बजेट साझेदारी गरी सडक सोलिङ, ढलान तथा पदमार्ग निर्माण गरिएको छ ।

काठेखोला गाउँपालिकाका पाँचवटा वडाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आउने ज्यालामा साझेदार गरी नमूना रुपमा सडक ढलान गरेको हो । काठेखोला गाउँपालिका–२ भिमापोखरामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसँग साझेदारी गरी वडाले मात्रै रु २२ लाख खर्च गरेर सडक स्तरोन्नति गरिएको वडाअध्यक्ष विद्यापति शर्माले जानकारी दिए ।

वडा कार्यालयमा सूचीकृत १४६ मध्ये पहिलो चरणमा नौ जनालाई रोजगारी प्रदान गरिएकामा वडा कार्यालयले तीनवटा सडक स्तरोन्नति गरिएको शर्माले बताए । ।

“गाउँको मुख्य विकास भनेको सडक रहेछ, सडकका अप्ठ्यारा घुम्ती ढलान तथा उकालो सडकमा सोलिङ गर्दा यात्रालाई सहयोग पुर्याउने भएकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत प्राप्त रकममा वडाले साझेदारी गर्दै तीन ग्रामीण सडक स्तरोन्नति गरिएको छ,” शर्माले भने ।

काठेखोला गाउँपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन वडाको साझेदारीमा सामग्री खरिद गरेर सडक स्तरोन्नति तथा पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

थापाका अनुसार ज्यालाका लागि मात्रै प्राप्त बजेटमा वडा कार्यालयले निर्माण सामग्री र दक्ष कामदार थप्दा बजेट कार्यान्वयन प्रभावकारी बनेको बताए ।

नारायणगढ बुटवल सडक बन्द हुँदै

नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक आवागमन बन्द गरिएको छ । सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरिने भएको हो ।

दाउन्ने क्षेत्रमा निर्माण कार्य थप केही दिन निरन्तर रहने भएकाले आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिने भएको नवलरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए ।

यसअघि दाउन्ने सडकखण्डमा चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ देखि ३ बजेसम्म र २०८२ वैशाख १ गतेदेखि रातिको ११ देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको थियो । अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम बन्दै

हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार  तीव्रगतिमा अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि उपल्लो मुस्ताङ जोड्ने गरी लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङसम्मको १०३ किलोमिटर दुरीमा ३३ केभी प्रशारण ट्रान्समिसनलाइन विस्तार अघि बढाएको हो ।

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित कोरलानाकासम्म हाल ११ केभी विद्युत् क्षमताको प्रशारणलाइन सञ्चालनमा छ । नेपाल विद्युत् प्राधिकरणले मुस्ताङको थासाङ –२ कोवाङसम्म केन्द्रीय प्रशारणलाइनअन्तर्गत ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको पहुँच पुराएको छ । यसलाई जिल्लाभरि नै केन्द्रीय प्रशारण लाइनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको योजना अघि बढाएको हो ।

नेपाल विद्युत् प्राधिकरणको विद्युत् मापपदण्डअनुसार एक सब स्टेशनबाट अर्को विद्युत् सब स्टेशनसम्म विद्युत् प्रशारण गर्नका लागि ५० किलोमिटर भन्दामाथि जानुहुँदैन । तर मुस्ताङको कोवाङदेखि कोरलानाकासम्म करिब एक सय ५० किलोमिटर दुरीमा सिधैँ ११ केभीको विद्युत् प्रशारणलाइन सञ्चालनमा छ ।

यसैका कारण मुस्ताङ जिल्लामा पटक/पटक विद्युत् आपूर्तिमा समस्या र चुनौती हुने अवस्था विद्यमान छ । हाल मुस्ताङको कोवाङबाट उत्तरी क्षेत्रसम्म सञ्चालन भइरहेको विद्युत् प्रशारणलाइन सिधैँ ११ केभीको हुँदा मुस्ताङका नागरिकले चरम विद्युतीय समस्या झेल्दै आइरहेका छन् । हालको ११ केभी विद्युत् लाइनको सेवाले कुनै एक स्थानमा विद्युत् समस्या आइपर्दा पूरै जिल्लामा विद्युत् आपूर्ति बन्द गर्नुपर्ने बाध्यकारी अवस्था छ ।

मुस्ताङ जिल्लाको विद्युत् प्रशारणलाइनलाई दीगो, भरपर्दो र प्रभावकारी तुल्याउन प्राधिकरणले ३३ केभी प्रशारणलाइनको ठेक्का लगाएको हो । मुस्ताङको कोवाङदेखि चैलेसम्म र चैलेदेखि उपल्लो मुस्ताङको चराङसम्म दुई सेसनमा सब स्टेशन निर्माण गरेर ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार गर्ने गरी सन् २०२३ को जुलाईमा प्याराडाइज हुलास जेकेबी जेभीसँग २७ करोड ६५ लाखको लागतमा ठेक्का सम्झौता गरेको जेभीका प्रतिनिधि इञ्जिनियर दीपककुमार मण्डलले बताए ।

प्राधिकरणले हालको ११ केभी प्रशारणलाइनलाई पूरै विस्थापित गर्ने गरी ३३ केभी नयाँ ट्रान्समिसन प्रशारणलाइनको काम अघि बढाएको जेभीका प्रतिनिधि इञ्जिनियर मण्डलको भनाइ छ । मुस्ताङमा ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार दुई वर्षको ठेक्का सम्झौता अनुसार सन् २०२५ को जुलाईसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ । प्राविधिकरणसँगको ठेक्कापछि प्याराडाइज हुलास जेकेबी जेभीले ३३ केभी ट्रान्समिसन प्रशारणलाइन विस्तार गर्न विद्युत् पोल गाड्न ६ फिट गहिराइको खाल्डो र पिसिसी  खन्ने कामसँगै विद्युत् पोल विस्तारक ९५ प्रतिशत काम सम्पन्न गरेको जेभी इञ्जिनियर मण्डलले उल्लेख गरे ।

३३ केभी ट्रान्समिसन प्रशारणलाइन अबको छ महिनाभित्रै प्राधिकरणलाई हस्तान्तरण गर्ने लक्ष्यसहित प्रशारणलाइनको तार तान्ने काम तीव्रगतिमा काम भइरहेको जनाइएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि जोमसोमसम्म करिब २५ किलोमिटर दुरीमा  ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको तार तान्ने काम सकिएको प्याराडाइज हुलास जेकेबीले जनाएको छ ।

“अहिले जोमसोम र ठिनीलगायतका दुई÷तीन स्थानमा विद्युत् तार तान्ने काम भइरहेको छ”, इञ्जिनियर मण्डलले भने, “उपल्लो मुस्ताङमा पनि मौसम अनुकूल छ, त्यहाँ पनि अर्को टोलीलाई तार तान्ने काममा खटाउने तयारीमा छौँं ।” मुस्ता¬ङको चराङसम्म ३३ केभी ट्रान्समिसन प्रशारणलाइनको काम सकिएलगत्तै विद्युत् प्रशारणको परीक्षणस्वरुप लाइन सञ्चालनमा ल्याएर प्राधिकरणलाई हस्तान्तरण गर्ने योजना छ ।

यसैगरी नेपाल विद्युत् प्राधिकरणले ३३ केभी प्रशारणलाइन विस्तारका लागि मुस्ताङको वारागसङ मुक्तिक्षेत्र–३ चैले र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ चराङमा गरी दुई वटा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का आह्वान एकवर्ष अघिनै गरिसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । मुस्तङको चैले र चराङमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने सबस्टेशन निर्माणका लागि आवश्यक जग्गाकोसमेत व्यवस्थापन भइसकेको अध्यक्ष विष्टले उल्लेख गरे । रासस

धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास

धनकुटास्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले शनिबार आयोजनाको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पु¥याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

उनले भने, “हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ ।”

यसैगरी मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफूले विश्वास लिएको जानकारी दिए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबिच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताए ।

विश्व बैंकको सहयोगले बाग्लुङमा सडक निर्माण थालियो

बागलुङको ओढारचौर–ढोडेनी सडक स्तरोन्नति थालिएको छ । आगामी असार महिनाभित्र कालोपत्र हुने गरी सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको हो ।

विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट सडक निर्माण थालिएको थियो । बागलुङ नगरपालिकाले तीन वटा सडक कालोपत्र गर्न ५८ करोड अनुदानलडक निर्माण प्रक्रिया अगाडी बढाएको हो ।

नगपालिकाले ओढारचौर–ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ मा पर्ने गणेशथान घुम्ती–माझीबस्ती–निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी–तितौरे सडक छनोट गरेको थियो ।

नगरपालिकाले ०८१ जेठ १५ गते आशिषरफेवा जेवीसँग १२ दशमलव ५ किलोमिटर सडक कालोपत्र गर्न ४९ करोड २१ लाखमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो । ट्रयाक खुलेको २६ वर्षपछि सडक स्तरोन्नति हुने भएपछि स्थानीय खुसी भएका छन् ।

साततले दरबारको पुनःनिर्माण अझै सकिएन

गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार) सहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माण अझै पूरा भएको छैन । पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुराएको १० वर्षमा बल्लतल्ल पुनःनिर्माण अघि बढाइएको छ ।

नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनःनिर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिबेला विदुर नगरपालिका(२ मा अवस्थित कार्यक्षेत्रमा फर्किएर पुनःनिर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ ।

साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक संरचनाको प्राविधिक आवश्यकताअनुसार जीर्णोद्वार, पुनःनिर्माण, प्रवलीकरण र संरक्षणको काम अघि बढाइएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताए । उनका अनुसार दरबारसहितको संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकार र पुरातत्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट पुनःनिर्माणपूर्वको काम भइरहेको छ ।

“दरबार पुनःनिर्माणको काममा लक्ष्यअनुसार प्रगति नभए पनि अहिले भने काम तीव्र गतिमा अघि बढाइएको छ”,  प्रमुख पाण्डेले भने, “गत भदौदेखि कार्यक्षेत्रमा आएको चिनियाँ प्राविधिकसहितको कामदारले काम सुरु गरेका छन् ।”

भूकम्पले क्षति पुराएका संरचना पुनःनिर्माणमा सहयोग पुराउने कार्यक्रमअन्तर्गत नुवाकोटको साततले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठ वटा संरचनाको जीर्णोद्वार पुनःनिर्माण एवं प्रवलीकरण गर्ने जिम्मेवारी चीन सरकारले लिएको छ । चिनियाँ पक्षले दरबारको पुनःनिर्माणका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पठाएको छ ।

दुई देशबीच भएको समझदारीअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मेवारी पाएको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजबीच विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । नयाँ सम्झौतामार्फत पुनःनिर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम शुरु गरिएको हो । यद्यपि थप अवधि उल्लेख गरिएको छैन ।

पूर्ववत समझदारीअनुसार नै काम सुरु गरेको ४५ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ । पहिलो चरणअन्तर्गत साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । चिनियाँ प्राविधिकहरुको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्वारमार्फत पुनःनिर्माण गर्ने तयारी छ । बाँकी अन्य गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनःनिर्माण, जीर्णोद्वार, प्रवलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ ।

नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजयी हासिल गरेसँगै नुवाकोटमा दुर्गरत्न (साततले दरबार) निर्माण गरेको थियो । काठमाडौँ उपत्यका विजयी हुनुअघिसम्म पृथ्वीनारायण शाहले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आएको इतिहासमा उल्लेख छ । दरबारलाई नै उहाँले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाई देशको राजधानीका रुपमा नुवाकोट रहेको उल्लेख थियो ।

उक्त ऐतिहासिक दरबारसहितको संरचना विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो । दरबारसहितको संरचना पुनःनिर्माणको जिम्मा लिएको चिनियाँ पक्षले विसं २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई (टेको दिएर) फर्किएको थियो ।

हाल नुवाकोट दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तुलजा (तलेजु) भवानीको मन्दिरको प्रवलीकरण अघि बढाइएको छ ।  रासस

खिम्ती– किर्नेटार सडकखण्डको ठेक्का आह्वान

तामाकोशी– मिल्टि सडक अन्तर्गत खिम्ती– किर्नेटार सडक खण्डको ठेक्का आह्वान भएको छ । सडक डिभिजन खाल्टे सिन्धुलीले मंगलबार एक सूचना जारी गर्दै ठेक्का आह्वान गरेको हो ।


गत असोजको दोस्रो साता आएको बाढीले क्षतिग्रस्त बनेको सडकको पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । बाढीले यस खण्डको करिब १ किलोमिटर सडकमा क्षति पुर्याएको थियो ।

उक्त खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने छ । साथै उक्त खण्ड निर्माणका लागि ठेक्का सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने बताइएको छ ।

उक्त सडक पुनर्निर्माणका लागि सरकारले २५ करोड ३० लाख रुपैयाँ बजेट स्रोत सुनिश्चितता गरेको छ ।