राष्ट्रिय पुस्तकालय भवन बनाउन खुल्यो टेन्डर

२०७८ फागुन २ गते ५:३६

काठमाडौँको जमलमा नेपाल राष्ट्रिय पुस्तकालयको भवन बनाउन टेन्डर आह्वान गरिएको छ ।

राष्ट्रिय पुस्तकालयले सूचना निकालेर भवन निर्माणका लागि टेन्डर आव्हान गरेको हो । ३० दिनसम्म निर्माण कम्पनीले टेन्डरको निवेदन दिन सक्ने पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताएका छन् ।

सूचनामा भनिएको छ, निर्माण कम्पनीले टेन्डरको निवेदन दिने टर्नओभर ५४ करोड १४ लाख ५ हजार हुनुपर्ने छ । सेक्युरिटी भने २ करोड ९ लाख ३४ हजार ५ सय राख्नुपर्नेछ । टेन्डर परिसकेपछि २ वर्ष भित्र बनाइसक्नुपर्नेछ ।

मिश्रका अनुसार ७४ करोडको हाराहारीमा भवन बन्ने छ । २०७२ को भूकम्प पछि पुस्तकालय रहेको साबिकको हरिहर भवन ध्वस्त भएको थियो । अहिले नेपाल राष्ट्रिय पुस्तकालय अस्थायी रूपमा मानव स्रोत तथा विकास केन्द्र सानोठिमी भक्तपुरमा रहदै आएको छ ।