मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो।

पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ। पाण्डेले भने, ‘हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ।’

गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८ दशमलव ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९ दशमलव २५ प्रतिशत छ। पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २० दशमलव १६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२ दशमलव ३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ।

पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ। दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।

मादी पुलमा ६५ प्रतिशत प्रगति

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पुलमा ६५ दशमलव ०७ प्रतिशत भौतिक प्रगति भएको छ। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमाथि निर्माणाधीन पुलमा हालसम्म ६५ दशमलव ०७ प्रतिशतभन्दा प्रगति भएको हो। त्यस्तै ५२ दशमलव ४३ प्रतिशत आर्थिक प्रगति भएको आयोजनाले जनाएको छ।

पुल निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। उक्त पुलमा छ वटा स्पान हुनेछन्। तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो। उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ।

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ। हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ। सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ।

बीपी राजमार्ग पुनर्निर्माण : चारवटा प्याकेजमा ठेक्का

काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारले चार वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ । फागुन मसान्तभित्र चार वटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक रामहरि पौडेलले चार वटा प्याकेजमा ठेक्का आह्वान गरिने र त्यसमध्ये एउटा प्याकेज जाइकालाई निर्माण गर्न दिने तयारी भएको जानकारी दिए ।

‘स्टिमेट फाइनल हुनु पर्‍यो । अब छिटोभन्दा छिटो ठेक्का खुलाउँदै छौँ । पहिला स्टिमेट क्लियर रूपमा हेरेर प्याकेज छुट्याउँदैछौँ । प्याकेज छुट्ट्याइ अझै तिन वटा प्याकेज छुट्ट्याउने तयारी भइरहेको छ । तर कहाँदेखि कहाँसम्म भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन,’ उनले भने, ‘स्ट्रक्चरको हिसाबमा प्याकेज छुट्ट्याउँछौँ । अहिलेसम्म चारवटा भन्ने छ । अझै बढ्न पनि सक्छ । अस्ति नै पेस गरेको डिजाइन रिभ्यु गर्नुपर्छ ।’

यसमध्ये पहिलो प्याकेज नेपालथोक–बर्खे खोला सडक खण्ड को ठेक्का आह्वान गरेको छ । बुधबार सडक डिभिजन खाल्टे सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडक खण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनर्निर्माणका लागि ठेक्का आह्वान गरेको हो । अब बाँकी तीनवटा प्याकेजमध्ये एउटा प्याकेज पुनर्निर्माणका लागि जाइकालाई दिने बताउँदै जापानलाई पर्खिँदा एउटा प्याकेजको ठेक्का आह्वान गर्न ढिलो हुनसक्ने महानिर्देशक पोखरेलको भनाइ छ ।

‘जापानी आए भने एउटा प्याकेज पर्खिनु पर्ने हुन्छ । जाइकासँग तीन-चार चरणमा छलफल पनि भएको छ । तर जाइकाले लगानी गर्ने/नगर्ने अहिलेसम्म फाइनल भएको छैन,’ महानिर्देशक पोखरेलले भने,‘उसले गर्ने भए ७/१० दिनसम्म कुर्छौँ ।’

यसअघि यो राजमार्ग  जाइकाले आफ्नै आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरेको थियो । धुलिखेल–बर्दिबाससम्म करिब १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको सन् २००५ मा निर्माण सुरु गरेको थियो ।यो सडक कुल साढे आठ अर्ब रुपैयाँ लागतमा स्थायी पुनर्निर्माण गर्ने तयारी छ ।

असोजको बाढी–पहिराले क्षति पुर्‍याएको बिपी राजमार्गको खण्ड मर्मतका लागि सरकारले जापान सरकारसँग अनुरोध गरेको थियो।

ओमनको मस्कटमा रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवाले सोमबार जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमासँग शिष्टाचार भेट गर्दै बिपी राजमार्ग पुनर्निर्माणका लागि आग्रह गरेकी थिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालका लागि जापानी राजदूतसँग गत अक्टोबरमा बिपी राजमार्ग पुनर्निर्माण गरिदिन आग्रह गरेका थिए।

सडक विभागले साना सडकको जिम्मा पालिकालाई दियाे

काठमाडौँ  । सडक विभागले १५० किलोमिटर सडक काठमाडौँ र ललितपुर महानगरलाई हस्तान्तरण गर्ने भएको छ । मुख्य राजमार्ग सङ्घले, प्रदेशभित्रका ठुला सडक प्रदेशले र स्थानीय सडक पालिकाको मातहत रहनुपर्ने संविधानको मर्म अनुसार विभागले सो सडक हस्तान्तरण गर्न लागेको हो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिन्टेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले यसअघि सडक विभागमातहत रहेका चक्रपथभित्रका साना सडक काठमाडौँ र ललितपुर महानगरलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । यी दुई महानगरपालिका क्षेत्रमा पर्ने चक्रपथ र मुख्य कोरिडोर सडक सडक विभागमातहत नै रहने उनले बताए ।

न्याैपानेले भने “काठमाडौँ जिल्ला अन्तर्गतका ५९ वटा (१०३ किलोमिटर) र ललितपुर जिल्ला अन्तर्गतका २४ वटा (४४.५ किलोमिटर) सडक हस्तान्तरण गर्न लागिएको हो । आगामी आर्थिक वर्ष (२०८२/८३) को बजेट आउनुअघि नै यी सडक हस्तान्तरण गरिने छ ।”

उनले संविधानको मर्म अनुसार सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमातहत राष्ट्रिय राजमार्ग मात्र रहनुपर्ने भए पनि अहिलेसम्म साना सडकसमेत रहेका छन् तर अब स्थानीय तह नै जनशक्ति, प्रविधि र आर्थिक दृष्टिकोणले सक्षम हुँदै गएपछि साना सडक पालिकालाई हस्तान्तरण गर्न लागिएको बताए ।

सडक डिभिजन काठमाडौँ र ललितपुरले महानगरपालिकालाई हस्तान्तरण गर्न लागिएका सडकको सूची सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयलाई बुझाइसकेको छ । काठमाडौँ महानगरको सिमानाभित्र पर्ने चक्रपथ, अरनिको राजमार्ग र ‘भिआइपी’ सडक भनेर चिनिने त्रिपुरेश्वर, बालुवाटार, सिंहदरबार, पुतलीसडक सडक डिभिजन काठमाडौँमातहत नै रहने छन् ।  त्यसै गरी ललितपुर महानगरपालिकाको सिमानाभित्र पर्ने थापाथली पुलदेखि जावलाखेल–एकान्तकुना–ग्वार्को–सातदोबाटो गोदावरी, भैँसेपाटी, लुभुलगायतका मुख्य सडक सडक डिभिजन ललितपुरमातहत नै रहने छन् ।

 

बिपी राजमार्ग पुनर्निर्माणको ठेक्का लगाउने अन्तिम तयारी

काठमाडाैं । गत असोजमा आएको बाढीले भत्किएको बिपी राजमार्गस्थित सिन्धुली तर्फको सडक निर्माणका लागि ठेक्का लगाउने अन्तिम तयारी भएको छ ।

काभ्रे र सिन्धुलीको सिमाना बर्खे खोला देखि नेपाल थोक सम्मको करिब साढे तीन किमी सडक निर्माणका लागि ठेक्का लगाउने तयारी भएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारस हमालले जानकारी दिए । अबको केही दिनमै हामी ठेक्का सूचना निकाल्ने तयारीमा छौ, उनले भने- २ वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का आव्हान गर्दछौ ।

पुनर्निर्माण हुने बिपी राजमार्ग डबल लेनको बन्ने कार्यालयले जनाएको छ ।भ्याट र अन्य कर बाहेक करिब ६५ करोड लागतमा सडक पुनर्निर्माण गर्ने गरी ठेक्काको तयारी भएको कार्यालयले जनाएको छ । गत असोजको बाढीले सिन्धुलीको सुनकोसी गाउँपालिकाको नेपाल थोक देखि काभ्रेको भकुन्डे नजिक सम्म करिब १२ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो । सडक बगाएपछि हाल अस्थायी रूपमा रोसिको बगरबाट ट्याक सडक बनाइ सवारी सञ्चालन हुँदै आएको छ ।

रोशिको बगरबाट अस्थायी रूपमा सञ्चालन भएको सडकलाई समेत हाइट उठाएर बर्खामा समेत चल्ने गरी काम भइरहेको कार्यालय प्रमुख हमालले जानकारी दिए ।

चक्रपथ विस्तारको काम केही समयमै सुरु हुन्छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने बताएका छन् । प्रतिनिधिसभाको  बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले चक्रपथको दोस्रो खण्डतर्फ ‘सर्भिस लेन’को निर्माण भइरहेको जानकारी दिए ।

‘मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरु हुनेछ,’ मन्त्री दाहालले भने । उनले पुँजीगत खर्च बढाएर लैजान मन्त्रालयले पहलदकमी लिइरहेको उल्लेख गरे । नागढुङ्गा–मुग्लिन, बिपी राजमार्ग, उत्तरदक्षिण करिडोर, पूर्वपश्चिम राजमार्गलगायत राष्ट्रिय राजमार्ग निर्माण तथा स्तरोन्नतिमा अपेक्षित नतिजा हासिल गरिएको दाहालको भनाइ छ ।

उनले भने, ‘गत पुस मसान्तभित्र सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रू, माघ १७ गतेसम्म ४१ वटा पुल निर्माण सम्पन्न भएको छ । रेलमार्गको तीन किलोमिटर ‘ट्र्याक’ तथा दुई लेनतर्फ २४६ किमी सडक कालोपत्र र छ लेनतर्फ ३० किलोमिटर सम्पन्न भएको छ ।’सवारी चालक अनुमतिपत्र वितरणमा राखिएको लक्ष्य प्राविधिकरण पूरा हुन नसकेको जानकारी दिँदै मन्त्री दाहालले ‘स्मार्ट कार्ड’ वितरणलाई तीव्र पारिएको बताए । ‘यसबीचमा नौ लाख ‘स्मार्ट लाइसेन्स’ वितरण गर्ने भनिएको थियो तर एक लाख ६९ हजार ४३९ मात्रै छपाइ भएर वितरण गरिएको छ,’ उनले भने, ‘दुई/तीन महिना कार्ड छपाइ गर्ने मेसिन नै चलेन, त्यहाँ अनेक समस्या रहेछन्, ती समस्या समाधान गर्दै अघि बढिएको छ ।’

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

लमजुङ ।  पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ ।मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कूल ४५ किमी सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमी र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको हो ।

मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका अनुसार लामो समयदेखि सडकलाई स्तरवृद्धि गर्दै स्तरोन्नति गर्ने योजनासहित निर्माण अघि बढाइएको थियो । केही स्थानीयले मुआब्जा, सडकको चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पुर्‍याएका छन् ।

स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो घरजग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको हो। केही स्थानीयले सडकको डिजाइन परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन् । ‘हामी विकासको विरोधी होइनौँ, तर उचित प्रक्रिया अपनाइनुपर्छ,’ सुन्दरबजारका रामप्रसाद पण्डितले भने । सुन्दरबजार बजार क्षेत्रका स्थानीयले श्रीचन्द्र लामिछानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर सडक निर्माणको विरुद्ध सर्वोच्च आदालतसम्म मुद्दा दायर गरिएको उनले बताए । ‘मुद्दा दायर भएको दुई वर्ष वितिसक्दा पनि सर्वोच्चले कुनै आदेश गरेको छैन,’ उनले भने ।यता स्थानीय भने सर्वोच्चको आदेशपछि सडक निर्माण गर्न दिने बताउँदै आएका छन् । ठेकेदार कम्पनीको सडक निर्माणको म्याद दुई महिना मात्रै बाँकी छ । स्थानीयको अवरोध भइरहँदा सडक निर्माण अलपत्र परेपछि धुलो र धुँवाले आफूहरूले सास्ती भोग्नु परेको स्थानीय राजु न्यौपानेले बताए ।

मध्यपहाडी लोकमार्ग योजना कार्यालयका प्रमुख ईश्वरबहादुर रिजालले केही स्थानीयको अवरोधका कारण सडक निर्माण अन्योलमा परेको बताए । स्थानीयको अवरोध नहुने हो भने हप्ता दिनमा काम सुरु गरेर दुई महिनाभित्र सम्पन्न गर्नसक्ने गरी आफूहरू तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

स्थानीयको विवाद समाधान नहुँदासम्म सडक निर्माण अगाडि नबढ्ने योजना कार्यालय पालुङ्टारले जनाएको छ । स्थानीयको विवाद समाधान गर्ने प्रमुख दायित्व स्थानीय तह, समाजसेवी, स्थानीय सर्वदलीय प्रतिनिधि भएकाले सबै बसेर छलफलमार्फत समाधान खोज्नुपर्नेमा प्रमुख रिजालले जोड दिए ।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सडक निर्माणमा अवरोध हुन नहुने बताउँदै समस्या समाधानको पहल भइरहेको बताए। ‘सडक निर्माण नगरिँदा सबै नागरिकले सास्ती खेप्नुपरेको छ । स्थानीय बासिन्दाको जायज माग सम्बोधन गर्दै काम अघि बढाउन पहल गरिरहेका छौँ,’ उनले भने ।

नगरप्रमुख कोइरालाका अनुसार सम्बन्धित पक्षबीच छलफल भइरहेको छ । स्थानीय प्रशासन, नगरपालिकाका पदाधिकारी, सडक डिभिजन कार्यालय र प्रभावित स्थानीयबीच सहमति जुटाउने प्रयास भइरहेको उनले जानकारी दिए । सुन्दरबजारका बासिन्दाले यथाशीघ्र सडक निर्माण सुरु गर्न माग गरेका छन् । लामो समयदेखि अस्तव्यस्त सडकको अवस्था सुधार्न ढिलाइ नगरियोस् भन्ने स्थानीय माग छ ।

दोलखा र रामेछापको सिमाना बनिरहेकाे खिम्ती २ जलविद्युतकाे काम ८० प्रतिशत पुरा

काठमाडाैं। खिम्ती २ जलविद्युत आयाेजनाकाे काम भाैतिक प्रगती ८० प्रतिशत पुगेकाे छ । ४८.८ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको काम अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएकाे छ। आयाेजना दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन अवस्था रहेकाे छ ।

आयोजनाको मुख्य सुरुङ खन्ने, खनिएका सुरुङमा लाइनिङ र कंक्रिटिङ गर्ने, हेडवर्क्सका संरचनाअन्तर्गत बाँध निर्माण, खोलाको दुवैतिर तटबन्ध गर्ने, इन्टेक निर्माण, डिस्याण्डर लगायतको संरचना निर्माणको काम भइरहेको छ । आयोजनाले आउँदो वर्षायामअघि नदी क्षेत्रको काम पूरा गरेर डिस्याण्डर लगायतका कामहरू मात्रै बाँकी राख्ने तयारी गरेको छ।

आयोजनामा मुख्य सुरुङसहित काम गर्न विभिन्न स्थानमा सहायक सुरुङसहित ८ हजार ३ सय ५ मिटर सुरुङ निर्माण गर्नुपर्छ। त्यसमध्ये मुख्य पानी बग्ने सुरुङ, सर्ज साफ्ट, ठाडो सुरुङ र काम गर्न जाने सहायक सुरुङसहित अब मुख्य सुरुङको काम अब १ सय ७० मिटर मात्रै बाँकी छ। त्यो सुरुङ आउँदो चैत अन्त्यसम्म छिचोल्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ।

 

प्रधानमन्त्रीले नै ठेक्का तोड्ने चेतावनी दिएपछि नारायणगढ–बुटवल सडकमा एकतर्फी कालोपत्रे सुरू

बुटवल । नेपालकै ‘लाइफ लाइन’  मानिने नारायणगढ–बुटवल सडकमा दाउन्नेबाहेक एकतर्फी ‘पिच’ हुने भएको छ।

प्रधानमन्त्रीले नै ठेक्का तोड्ने चेतावनी दिएपछि करिब ६ महिना हराएको ठेकेदार काममा फर्किएका छन्। अहिले गैँडाकोट, बर्दघाट दुवै खण्डमा कालोपत्रे भइरहेको छ।

गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल ४९ किमि गरी दुई खण्ड छन्। सडक विभागले सडकलाई २ खण्ड बनाई ठेक्का लगाए पनि निर्माण कम्पनी एउटै छ। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पूरै अर्थात् ११४ किमि सडक विस्तारको ठेक्का पाएको थियो।

चिनियाँ कम्पनीले कोभिड महामारी र रकम अभावको कारण देखाउँदै ठेक्का लम्ब्याएको थियो। एसियाली विकास बैंकको वित्तीय सहायतामा निर्माण भइरहेकाले भुक्तानीको समस्या छैन।

सडक विभागका इन्जिनियरहरूका अनुसार कम अंकमा कबोल गरेको र समय लम्बिँदा खर्च व्यवस्थापन गर्न नसक्दा निर्माण सुस्त भएको बताउँछन्।

नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डकी आयोजना प्रमुख अनुक्षा घिमिरेले नारायणगढदेखि दाउन्नेसम्म २२ किमि कालोपत्रे बाँकी रहेको बताइन्। गैँडाकोटदेखि दाउन्नेसम्म ६४.२४ किमिमध्ये कम्तीमा ४३ किमि कालोपत्रेबाट यात्रा गर्न पाउनेछन्।

‘निर्माण कम्पनीले अहिलेजस्तै काम गर्दा चालू आर्थिक वर्षमा गैँडाकोटदेखि दाउन्नेसम्म कालोपत्रे सडकले जोडिन्छ’, योजना प्रमुख घिमिरेले भनिन्, ‘पहिला काम नै भएको थिएन। अहिले गति लिएको छ।’

उनले निर्माण कम्पनीले अहिलेकै रफ्तारमा काम गरे असारअघि नै अधिकांश सडक जोडिने बताइन्।

८ किमि सडक कालोपत्रे गर्न ‘बेसमेन्ट’ तयार भइसकेको छ। उक्त ठाउँमा अब कालोपत्रे गर्न मात्रै बाँकी छ।

गत पुस २६ गते ओभरलोड ट्रकका कारण नियी खोलाको पुल निर्माण हुँदै छ। नयाँ २५० मिटर लामो पुलको स्पानको ढलान भइसकेको छ। वर्षातअघि नै पुल निर्माण गरी सञ्चालनमा ल्याउने आयोजनाको लक्ष्य छ।

२०८१ चैतसम्म गैंडाकोट–दुम्कीबास खण्डमा एकातर्फी कालोपत्रे सम्पन्न हुनेछ। पूर्वी खण्डमा गैँडाकोट क्षेत्रमा कालोपत्रे भइरहेको छ।

भृकुटीकागज कारखाना, नगरपालिकाको कार्यालय, शाश्वत धाममा कालोपत्रे भइसक्दा करिब ५७ प्रतिशत भौतिक प्रगति भएको छ।

त्यसैगरी, नारायणघाट–बुटवल सडक योजना पश्चिम खण्ड योजना प्रमुख शशांक मिश्रले बुटवलदेखि बर्दघाटसम्म एक महिनाभित्रै कालोपत्रे भइसक्ने बताए।

‘बुटवलदेखि बर्दघाटसम्म अधिकांश ठाउँ कालोपत्रे भइसकेको छ। भुलही   र बराह बजार बाँकी छ’, योजना प्रमुख मिश्रले भने, ‘मार्च महिनासम्म बुटवलदेखि बर्दघाटसम्म कालोपत्रेमै कुद्न सकिन्छ।’

दाउन्नेसम्म अधिकांश एकतर्फी सडक कालोपत्रे भइसक्ने उनले बताए । ७ किमि सडक कालोपत्रेका लागि बेसमेन्ट तयार भइसकेको छ।

वि.सं. २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेका थिए। सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाइ ७–७ मिटरको हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ।

ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो।

वि.सं. २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच वि.सं. २०७९ साउन २२ भित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो।

एक अर्ब खर्चिएर ढोरपाटन जोड्ने सडक स्तरोन्नति गरिने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ ।

पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सोमबार ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १२–१२ करोड बजेट विनियोजन गरेको उक्त योजना गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो आयोजना हो । यसै वर्ष ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा ठेकेदार परिचालन गर्ने लक्ष्य छ ।

उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ५० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए ।

“बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ”, उनले भने, “यो योजनामार्फत अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडकलाई पक्की बनाउने लक्ष्य छ ।”

म्याग्दीको मङ्गला, मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० मा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको बताए । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको रु छ करोड ५० लाख बजेटको योजनामार्फत सडकको मार्ग खोल्ने काम भइरहेको छ ।

माथिल्लो राहुघाट जलविद्युत आयोजनाकाे काम अन्तिम चरणमा

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए।

“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उनले भने, “विद्युतगृह ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।”

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए।

रघुगङ्गा–७ चिमखोलामा बाँध र रघुगङ्गा–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । “आउटलेटबाट विद्युत्गृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युत्गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”, उनले भने।

तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए। उनका अनुसार रघुगङ्गा–८ को बन्दीमा बाँध, रघुगङ्गा–७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।