ट्राफिक प्रहरी पोस्ट काँकारभिट्टाबाट टिभिआरएस प्रणाली सुरु

विर्तामोड  । ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाले मेचीनगरअन्तर्गतका मुख्य सडकमार्गमा ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम (टिभिआरएस) प्रणाली लागू गरेको छ।

काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागू भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियमविपरीत सवारी साधन चलाएबापत दण्डित सवारी चालकले नगदको सट्टा बैंकिङ प्रणालीबाट कारोवार गर्नुपर्ने हुन्छ।

यसअघि झापाको विर्तामोड र दमकमा सुरु भएको टिभिआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पुर्‍याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। उनले आगामी दिनमा झापाको गौरीगञ्ज, कन्काई, सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारालगायत सडकमार्गमा समेत टिभिआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको स्वचालित रुपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागु गर्न लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ।

टिभिआरएस प्रणालीेले सवारी साधनहरूको गति, लेन परिवर्तन, ट्राफिक सङ्केत उल्लङ्घनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ। यसैगरी दण्ड जरिवानावापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जवाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘धुलो उडाउँदै भए पनि गाउँमा गाडी बाटो आयो, हामीलाई सुविधा भएको छ’

म्याग्दी ।  धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छिन् । आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छिचोल्दै गाउँमा मोटरबाटो पुग्न चेचुङवासीलाई जलविद्युत् आयोजना सहयोगी बनेका हुन् ।

“अहिलेसम्म त सहर बजार जान पनि पैदलै घण्टौँ हिँड्दै आएका थियौँ, खाद्यान्नलगायतको सामान पनि बोकेरै लैजानुपर्ने बाध्यता थियो, धुलो उडाउँदै भए पनि गाउँमा गाडी बाटो आयो, हामीलाई सुविधा भएको छ”, घर्तीले भनिन् ।

प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर दुर्गम गाउँमा मोटरबाटो निर्माण गरिएको हो । यसबाट स्थानीयको समस्या केही हदसम्म सम्बोधन भएको छ । मोटरेबल सडक निर्माणले खाद्यान्नलगायतका सामग्री ढुवानीमा मानिसले बोक्नुपर्ने र खच्चडको भर पर्नुपर्ने बाध्यता हटेको छ ।

धौलागिरि गाउँपालिका–४ मुदीमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रिखोलादेखि खाम्ला, नाउरा हुँदै जेल्टुङ बगरसम्म १५ किलोमिटर सडक निर्माण गरेका छन् ।

चेचुङ र बगरसँगै खिबाङमा समेत जलविद्युत् आयोजनाकै लगानीमा सडकमार्ग जोडिएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा सडकको ट्रयाक दुर्गम बस्तीसम्म पुगेपछि गाउँमा जलविद्युत् आयोजनासँगै विकास भित्रिएको मुदीका वडासदस्य समेत रहेका बगरका स्थानीयवासी हरिप्रसाद तिलिजाले बताए।

“शिवरात्रिखोलाबाट बगर गाउँ पुग्न नाउराको भिरबाट एक दिनको यात्रा गर्नुपथ्र्यो, सडक बनेपछि अब एक घण्टामै यात्रा गर्न सकिने भएको छ, वडा र गाउँपालिकाको कार्यालयसँगै जिल्ला सदरमुकाम आउनजान समेत सडकले सुविधा दिएको छ”, तिलिजाले भने।

जलविद्युत् आयोजनाले म्याग्दी नदीमा बेलिब्रिज जडान गरेपछि खोलाबारी र पारिका बस्तीहरूमा समेत सजिलै आवतजावत गर्न सकिने भएको छ । मुदीको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन । पहाडी भेगका भिर पहाडका फेदी र कुनामा रहेका बस्तीमा सडक पुर्याउने काम चुनौतीपूर्ण रहेको अवस्थामा जलविद्युत् आयोजना भित्रिएसँगै सडकको सपना पूरा भएको वडाध्यक्ष यामप्रसाद घर्तीले बताए । जलविद्युत् आयोजनाले सडक, पुललगायतका पूर्वाधारसँगै गाउँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा सघाउन थालेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गतका कामलाई प्रभावित क्षेत्रका बासिन्दाको आवश्यकता र विकाससँग जोड्ने प्रयास गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । “जलविद्युत् गाउँपालिकाको प्रमुख सम्भावनाको आधार हो, यहाँ ठूला आयोजना भित्रदै गर्दा यस क्षेत्रको विकासमा पनि योगदान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, आयोजनामा आवश्यक पर्ने जनशक्तिमा समेत स्थानीयलाई अवसर दिन हामीले ध्यानाकर्षण गराइरहेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भने ।

धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र यसका सहायक नदीमा आठ वटा जलविद्युत् आयोजना दर्ता भएको र त्यसमध्ये तीन आयोजनाको निर्माण अघि बढेको उनले बताए।

तनहुँकाे बाङ्गे खोलामा पुल बन्यो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ र १० मा पर्ने बाङ्गे खोलामा पुल निर्माण भएको छ। नगरपालिकाको २१ लाख ५० हजार लागतमा पूल निर्माण गरिएको हो ।

नगरपालिकाले पुलको लागि ३२ लाख रुपियाँ विनियोजन गरेको थियो । तर निर्माण व्यवसायीले २१ लाख ५० हजारमा टेन्डर पारेका थिए । पुल निर्माणका लागि शिलान्यास गरिएको दुई महिनामै निर्माण सम्पन्न भएको हो ।

विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छः उपप्रधानमन्त्री सिंह

कञ्चनपुर । प्रधानमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्ने बताएका छन् । सहरी विकासमन्त्री  समेत रहेका सिंहले जनताको चाहना पूर्वाधार विकास भएको भन्दै विकास निर्माणमा दलहरू मिलेर काम गर्नुपर्ने बताएका हुुन् ।

सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी विकास कार्यक्रमअन्तर्गत कञ्चनपुर बेलौरी नगरपालिकामा एकीकृत सहरी विकास कार्यक्रमका विभिन्न योजना उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वाधार विकासका कामहरू गरेर जनतालाई सेवा सुविधा दिनुपर्नेमा आफ्नो जोड रहेको बताए ।

मन्त्री सिंहले राजनीतिक व्यवस्था बदल्ने आन्दोलनमा सबै दलहरू मिलेको चर्चा गर्दै विकास निर्माणका काममा पनि दलबीच एकता जरुरी रहेको बताए ।

‘जनताले सेवा सहज होस् भन्ने चाहेको छ । स्थानीय, प्रदेश र संघ सबै तहका सरकारले पूर्वाधार विकासमा काम गर्नुपर्‍यो भन्ने जनचाहना छ ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘विकास निर्माणका काममा हामीले फराकिलो भएर सोच्नुपर्छ भन्ने मलाई लागेको छ । चुनावको बेलामा पार्टीहरूले आफ्नो एजेन्डा अलग्गै लिएर जनतामा गए पनि विकासका काममा सबै दलहरू मिलेर काम गर्नुपर्छ । मिलेर काम गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’

उनले विकासका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने भएकोले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहित अरू दलहरूलाई पनि मिलाएर सरकार बनेको बताए ।

बन्दीपुरमा बन्दै पाँचतारे होटल ‘बन्दीपुर हिल’

तनहुँ । बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । सत्र तले क्विन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ ।

बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस होटलमा ८० कोठा रहने छन् । परियोजनाले तल्लो स्टेशनमा ३ अर्ब ८३ करोड लगानी गरिसकेको छ । परियोजनाको कुल लागत ६ सय २९ करोडमध्ये करिब चार सय ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ ।

‘साहसिक खेलका साथै खड्गदेवी मन्दिरको दर्शन गर्न सकिन्छ, बन्दीपुरमा घुम्न आउने पर्यटकले पृथक अनुभव लिन सक्नेछन्,’’ श्रेष्ठले भने, ‘रेशमी खेती, मौरीपालनसँगै समुदायको विकासका लागि बन्दीपुर हिललाई सामूहिक उद्यमी क्षेत्रमा नमुना बनाइँदैछ ।’

बन्दीपुर–४ ठुलढुङ्गास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ । एक हजार ६ सय १६ मिटर लामो केबलकार करिब सात मिनेटमा पार हुने छ । केबलकार यात्राको क्रममा तल्लो स्टेशनबाट माथिल्लो स्टेशनतर्फ जाँदै गर्दा ९० डिग्रीको कोणमा आकाशतर्फ उडिरहेको आभास गर्न सकिन्छ । केबलकार सञ्चालनको पहिलो वर्ष कम्पनीको विशेष अफरमा पाँच सयमा आवतजावत गर्न सकिने छ ।

अन्य दिनमा आठ सयदेखि नौ सय र बिदाका दिनमा एक हजारदेखि एक हजार दुई सय जनासम्मले केबलकारको यात्रा गर्ने गरेका छन् । बन्दीपुर हिलमा हाल एक सय २० जना कर्मचारी कार्यरत छन् ।

यस परियोजनालाई नेपालकै गौरवको रुपमा लिइएको छ । नेपालकै पहिलो टियूभी प्रमाणपत्र प्राप्त गरिसकेको छ । टियुभी नर्ड जर्मनीअन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरीवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो ।

२०८१ जेठ ३१ बाट व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याइएको हो । बच्चादेखि ज्येष्ठ नागरिकसम्मका लागि लक्षित गरी परियोजना बनेको सो कम्पनीले जनाएको छ । ‘लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, टियुभी सर्टिफिकेट प्राप्त भएको छ,’ श्रेष्ठले भने, ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएर पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालनमा ल्याएका हौँ ।’

वर्षको एक दिन महाअष्टमीका दिनमात्र सर्वसाधारणका लागि खुला हुने बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिरमा अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । यसअघि नै केबलकारको तल्लो स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकलाई अन्तरराष्ट्रियस्तरको पाँच तारे सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गतेदेखि रेस्टुरेन्ट ‘ड्राइभ इन’सञ्चालनमा ल्याइएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै तल्लो स्टेशनमा जंगली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा ल्याइएको छ । समग्र बन्दीपुर हिल गुरुयोजना अनुसारका सबै संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । केबलकारको ३१ गोण्डलामध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेको सो परियोजनाले जनाएको छ ।

मेलम्चीको पानी बागमतीमा छाडियो

काठमाडाैं । शिवरात्रिको समयमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए।

‘हामीले अरू समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौं। आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौं। त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौं,’ उनले भने, ‘शिवरात्रिमा मात्रै नभएर मेलम्चीले अरू पर्व तथा दैनिक रूपमा वाग्मतीमा पानीको बहाव बढाउन सहयोग गरिरहेको छ।’

उनका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ।

‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामको पानी ल्याएर काठमाडौंका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौं,’ लामिछानेले भने, ‘आगामी वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौं।’

७ करोड खर्चिएर सकियाे तिलोत्तमाकाे क्रिकेट स्टेडियममा‘फ्लड लाइट’ जडानको काम, अब राति पनि खेल हुने

रूपन्देही । रुपन्देहीको तिलोत्तमा–१७ स्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा पाँचवटा ‘फ्लड लाइट’ जडानको काम सकिएको छ । स्टेडियममा करिब ७ करोड खर्चेर पाँचवटा फ्लड लाइट एक साता लगाएर जडान गरिएको स्टेडियमका निर्देशक विनोद कुँवरले जानकारी दिए ।

फ्लड लाइट जडान सकिएसँगै अब रातिको समयमा पनि क्रिकेट खेल्न सकिने उनले बताए । अहिले लाइट परीक्षणको काम सुरु भएको निर्देशक कुँवरले बताए । यो मैदानमा गत वर्षको फागुनदेखि अहिलेसम्म एक सयभन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्षमुनिको विश्वकप खेलेको महिला टिम र नेपाल प्रिमियर लिग खेलेको टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेका थिए ।

अस्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीको मदाने गाउँपालिका–४, म्यालपोखरीका कुँवरको व्यक्तिगत लगानीमा तिलोत्तमा नगरपालिका–१७, दरखसहवामा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम निजीक्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक मैदान हो । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक कुँवरले बताए ।

स्टेडियमको डीपीआरअनुसार अहिलेसम्म ५० प्रतिशतभन्दा धेरै काम भइसकेको छ । ५ वर्षभित्र पूरा गर्ने लक्ष्यसहित २९ जेठ २०८० मा शिलान्यास भएको मैदानमा तीव्र गतिमा काम भइरहेको स्टेडियमका निर्देशक कुँवरले बताए । ६० करोड रुपैयाँ लगानीमा निर्माणाधीन स्टेडियमको जग्गाका लागि मात्र ७ करोड खर्च भएको छ । मैदानका साथै भौतिक संरचना निर्माणको काम पनि भइरहेको उनले बताए । चार-चार तलाका २ वटा भवन (भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्ससहित) निर्माण भइरहेको छ । जसमा तेस्रो तलाको काम भइरहेको उनले बताए ।

२५ हजार दर्शक क्षमताको प्यारापिटसमेत बन्नेछ । स्टेडियममा खेल सञ्चालनका साथै आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य विनोदको छ । एकेडेमी सञ्चालनमा आएपछि स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहन मिल्ने उनले बताए ।  मैदानमा हालसम्म करिब ५० प्रतिशत लगानी भइसकेको उनले बताए । निर्माणकै क्रममा डिजिटल बोर्ड राख्ने, भीआईपी भवनको संरचनालाई थप फिचर बढाउने जस्ता योजनाका कारण लगानी थप हुन सक्ने उनले बताए ।

अहिले पनि यहाँ सामान्य खेलहरू नियमित भइरहेको स्टेडियमका निर्देशक कुँवरले बताए । मैदान पूर्ण रूपमा तयार हुन अझै डेढ वर्ष लाग्ने उनको भनाइ छ । मैदान व्यवस्थापनमा अटोमेसनको काम पूरा नहुँदा अहिले म्यानुअल नै काम भइरहेको छ । स्पिन बलरलाई फाइदा मिल्ने गरी पिच तयार गरिएको उनको दाबी छ ।

तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका १५ खेल हुने भएका छन् । एक्स्ट्राटेक ओभलसँगै रुपन्देहीको सिद्धार्थ रंगशाला र दाङको लमही क्रिकेट मैदानमा हुने प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म हुनेछ ।

ट्र्रयाक खुलेको १५ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ। २०६६ सालमा मार्ग खुलेको मंगला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो। बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो।

पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मंगला गाउँपालिका वडा नम्बर ३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरू भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताए।

‘गत म‌ंसिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ,’ उनले भने, ‘विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव गरेका छौं।’

पखेरदेखि खर्कटोलसम्म तीन किलोमिटर पाँच सय मिटर सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण गरिरहेको छ। खर्कटोलका बासिन्दा वीरबहादुर पौडेलका अनुसार तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ती, ग्रेड नमिलेको, साँघुरो सडक जोखिमयुक्त थियो। सडक स्तरोन्नति भएपछि यात्रा सहज हुने अपेक्षा गरेको उनले बताए।

ग्रेड र घुम्ती सुधार, नाली र पर्खाल निर्माण सकेपछि ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना छ। निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बजेट अभावका कारण धमाधम भइरहेको सडक निर्माणको काम रोक्नुपर्ने अवस्था आएको बताए।

गण्डकी प्रदेश सरकारले १० करोड बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीले २०८१ असारमा पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो। ठेक्काको अवधि १८ महिनाको हो।

म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले गत वर्ष दुई करोड विनियोजन गरेर आर्थिक मामिला मन्त्रालयबाट स्रोत सुनिश्चितता गराई ठेक्का लगाएको योजनामा यसपालि बजेट कटौती गर्दा निर्माण प्रभावित भएको बताए।

‘प्रदेश सरकारबाट पखेर–बरङ्जासहित म्याग्दीमा एकैसाथ सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको थियो,’ उनले भने, ‘पाँच करोड बजेट चाहिने योजनाका लागि दुई करोड र एक करोड ६० लाखका दरले बजेट विनियोजन गरेकाले निर्माण कार्य प्रभावित भएको हो।’बजेट अभावका कारण म्याग्दीका सडक र मोटरेबल पुल निर्माण आयोजना प्रभावित भएका विषयमा गत हप्ताको प्रदेशसभाको बैठकको शून्य समयमा जुग्जालीले सरकारको ध्यानाकर्षण गराउँदै विभागीयमन्त्रीको जवाफ मागेका थिए।

 

– रासस

माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण कार्य सुरु

काठमाडाैं । ३७ मेगावाट क्षमता भएको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। २६ महिना भित्र केन्द्रीय ग्रिडमा जोड्ने तयारी सहित म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी नाउरामा आयोजना निर्माण गर्न सुरु गरिएको हो।

हाइड्रो इम्पाएर प्राली प्रवर्द्धक रहेको आयोजनाले स्रोत साधन र जनशक्ति परिचालन गरेको छ । २४ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य सहित निर्माण थालिएको यो आयोजना २६ महिना भित्र राष्टिय प्रशारण लाइनमा जोड्ने तयारी गरिएको हो । २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु गरिएको छ । आयोजनाका अनुसार म्याग्दीको २ स्थानमा ५० र ३० मेट्रिक टन क्षमताको बेलिब्रिज जडान गरेर आयोजना निर्माण स्थलसम्म पहुँच मार्ग विस्तार गरिएको छ ।

सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध निर्माण गरिने छ ।, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेड रेस सुरुङ बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको हो । ४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट बिद्युत गृहमा खसालेर बिद्युत् उत्पादन गर्ने तयारी छ ।

६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबिल बैङ्कको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।

रूपन्देहीकाे तिलाेत्तमास्थित क्रिकेट स्टेडियममा ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान

रूपन्दही । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ । स्टेडियमका निर्देशक विनोद कुँवरले फ्लडलाइट जडान सम्पन्न भएको जनाएका हुन् ।

नेपालमै पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको हो । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो । अब सोमबारदेखि लाइट टेस्टिङ (परीक्षण)को काम सुरु हुने निर्देशक कुँवरले जानकारी दिए।

२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर गत फागुन अन्तिम साता क्रिकेत प्रतियाेगीता आयाेजना भएकाे थियाे । अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान गरी परीक्षण गरिने कुँवरले बताए ।

यो मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । ‘भारतबाट पनि केही क्लबस्तरीय टिम आएर यहाँ आएर खेलेको पनि जानकारी गराउन चाहान्छौं’, उनले भने ।