पशु नस्ल सुधारका लागि सुर्खेतमा यस्ताे बन्दैछ ‘तरल नाइट्रोजन प्लान्ट’

सुर्खेत । कर्णाली प्रदेश सरकारले बनाउन लागेको तरल नाइट्रोजन भवनको सोमबार शिलान्यास गरिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले भवनको शिलान्यास गरेका हुन्।

पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य अनुसार कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भवन बनाउन लागेको हो।

मन्त्रालय मातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाका लागि भवन निर्माण कार्य सुरु भएको छ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य राखी तरल नाइट्रोजन प्लान्ट निर्माण सुरु भएको हो।

प्लान्ट स्थापनापछि गाई, भैँसीको नस्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुने लक्ष्य राखिएको छ।

मन्त्रालयले गत आर्थिक वर्षमा ४० लाखका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडी बढाएको थियो।

सोही अनुसार चालु आर्थिक वर्षमा चार करोड ८५ लाख बजेट विनियोजन गरेर कर्णाली प्रदेशमा पहिलोपटक प्लान्ट निर्माण सुरु गरिएको हो ।

तरल नाइट्रोजन प्लान्ट स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन लगायत उन्नत जातका पाडा बाच्छा उत्पादनमा टेवा पुग्नेछ ।

यस्तै, पहिला प्रदेश बाहिरबाट आयत गर्दै आएको पशुको वीर्य कर्णालीमै तरल नाइट्रोजनको स्थापनापछि पशुको वीर्य भण्डारण, तथा कृत्रिम गर्भाधान नस्ल सुधारका लागि सहज हुने भएको छ ।

मन्त्रालयका मन्त्री विनोदकुमार शाहले बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने बताए ।

उनका अनुसार दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत नस्ल सुधार अत्यन्त प्रभावकारी हुनेछ ।

तिब्बत जोड्ने गमगढी पुल निर्माण अन्तिम चरणमा

मुगु ।  मुगुको उत्तरी सीमा तिब्बत जोड्ने गमगढी (नाक्चे लाग्ना सडक अन्तर्गत गमगाड खोला (अल्का साँघु )  मा पक्की मोटरेबल पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।

नेपाल सरकार सडक विभागअन्तर्गत पुल महाशाखाको आर्थिक र सडक डिभिजन कार्यालय जुम्लाको प्राबिधिक सहयोगमा उक्त पुल निर्माण कार्य शुरू गरिएको हो ।

हिम सगरमाथा निर्माण कम्पनी ले कर्णाली राजमार्ग अन्तर्गत जुम्ला र कालिकोटको सिमाना मा पर्ने कालिका खेतुदेखि मुगुको छाईल बगर सम्म जम्मा कुल १० वटा मोटरेबल पुलमध्ये गमगाड खोलाको पक्की मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

नेपाली सेनाद्वारा ३२ वटा सडक आयोजना सम्पन्न

काठमाडौँ– नेपाली सेनाले जिम्मेवारी पाएकामध्ये हालसम्म ३२ वटा सडक आयोजना सम्पन्न गरेको बताएकाे छ। आइतबार पत्रकार सम्मेलन गर्दै सेनाले ३२ वटा सडक सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी पनि दिएकाे हाे ।

सेनाका अनुसार हाल ४ वटा सडक आयोजनाहरु (खाँदबारी–किमाथाङ्का सडक, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक, कर्णाली कोरिडोर सडक र दार्चुला–टिंकर सडक) अन्तर्गत २ सय किलोमिटर भन्दा बढी सडक निर्माण भइरहेको छ ।

सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनामा काम गरिरहेको छ।कुल ७०.९७७ किलोमिटर लम्बाई रहेको यो आयोजनाको भौतिक प्रगति ३८.२६ प्रतिशत र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको सेनाको भनाइ छ।

त्यसैगरी, आयोजना अन्तर्गत रहेका जम्मा ७ वटा सुरुङ्गहरु मध्ये २ वटा सुरुङ्गको ब्रेकथ्रु सम्पन्न भइसकेको र २ वटा सुरुङहरु निर्माणाधीन रहेको छ।

यस्तै अन्य ३ वटा सुरुङ्गहरुको डिजाइन तथा पूर्व तयारीका कार्यहरु भइरहेको छ। विविध कारणले गर्दा सडक आयोजनाको भौतिक प्रगति अपेक्षा अनुसार नभएतापनि लक्ष्य अनुसार कार्य सम्पन्न गर्न कोशिस भइरहेको सेनाको भनाइ छ।

बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

बागलुङ । पछिल्लो समय पर्यटन व्यवसाय चलायमान भएसँगै यहाँ होटल व्यवसायमा  आकर्षण बढ्न थालेको छ।

सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दूरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो। पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले केही दिनअघि सदरमुकाम बागलुङ बजारमा होटल इला कम्फोर्टको उद्घाटन गरे।

पछिल्लो पटक सञ्चालनमा आएको यो होटल जिल्लाकै धेरै लगानीको पहिलो होटल हो। उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ३० करोड लगानीमा सञ्चालनमा ल्याएको होटलले सदरमुकाम भित्रिने पर्यटक लक्षित गरेर सेवा सुविधा विस्तार गरेको छ।

झण्डै ६ महिनाअघि बजारमै सञ्चालनमा रहेका दुई होटलले सेवा बिस्तार गरे। लगानी बढाए। होटल रेड एप्पलले स्थानान्तरणपछि फराकिलो क्षेत्रमा आफ्ना सेवा सञ्चालनमा ल्याएको छ भने होटल शितलले रु दुई करोड लगानी थप गरेर सेवा थालेको छ।

सदरमुकाममा रहेका होटल दि राजन, पिस प्यालेस, समिट धौलागिरी, होटल पर्व लगायतका होटल पनि आफ्ना सेवा बिस्तारमै छन्। अन्य होटल तथा रेष्टुँराले पनि पर्यटक लक्षित सेवालाई केन्द्रमा राखेका छन्।

सदरमुकाम बाहिर घोडाबाँधेमा माउन्टेन भ्यु, गलकोटमा गलकोट स्क्वायर, बडिगाडमा एग्रो रिसोट, कुश्मीशेरामा साकुरा, बुर्तिबाङमा होटल दरबार र निसीको झिँवाखोलामा होटल लोकमार्ग पर्यटक लक्षित होटल हुन्।

पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले बागलुङमा होटल व्यावसायमा लगानी बढाउदै लगिएको हो।

बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर, पञ्चकोट, शालग्राम संग्राहलय, तथा ढोरपाटन शिकार आरक्ष लगायतका प्रमुख पर्यटकिय गन्तव्यको अवलोकन भ्रमण गर्न आउने पर्यटकको चहलपहल बढ्न थालेपछि सुविधा सम्पन्न होटल तथा लजहरूको विस्तार हुने क्रम बढेको होटल सगुनका सञ्चालक सञ्जय श्रेष्ठ बताउँछन्।

यहाँ पर्यटक आउनका लागि कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्गले सघाईरहेका छन्।

‘भएका होटल मात्रै यहाँ पर्यटक आउने क्रम बढ्दा पर्याप्त हुँदैनन्,’ होटल व्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले भने,‘होटल व्यवसायमा लगानी बढ्नु जिल्लामात्रै होईन प्रदेशकै लागि सकरात्मक सन्देश हो।’

होटल क्षेत्रमा व्यवसायीले एक करोडदेखि ३० करोडसम्म लगानी गरेका छन् भने एक हजार भन्दा बढीले प्रत्येक्ष रोजगारी पाएका छन्।

पाहुनाको आगमनले रौनकता छाएको र होटल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेको होटल शिलतका संचालक तालबहादुर कुँवर बताउँछन्।

‘यहाँ सम्भावना धेरै छन्, राज्यले लगानी सुरक्षा गरिदिने हो भने लगानीकर्ता तयार हुन्छन्,’ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेल भन्छन्, ‘लगानी आकर्षण गर्ने काम राज्यको हो, नीजि क्षेत्रलाई हेर्ने नजर स्थानीयदेखि केन्द्र सरकारसम्म फेरिनुपर्छ।’

व्यवसायीहरूले पाहुलनालाई आर्कषण गर्न बिभिन्न पर्यटकीय प्याकेज समेत ल्याउन थालेका छन्। विभिन्न क्षेत्रको अवलोकनपछि एक दिन बसोबास गर्ने गरि सुविधा सम्पन्न होटल पाउन थालेपछि आन्तरिक पर्यटकलाई सहज बनेको छ। पर्यटकको आगमन बढेसँगै होटलको आम्दानी पनि बढेको छ। होटल भरिँदाका दिन एउटै होटलले ५० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरेको होटल पर्वका म्यानेजर राम पराजुली बताउँछन्।

बागलुङका पर्यटकीय क्षेत्र घुम्नका लागि देशभरीबाट बिभिन्न विद्यालय, समुह र सहकारी तथा व्यक्ती र परिवार मिलेर आउनेहरूको लर्को छ।

मुस्ताङ पुगेर फर्किने, म्याग्दीको तातोपानी कुण्ड पुग्ने पर्यटकको समेत बासस्थान भएकाले दैनिक ३००देखि ५०० सयपर्यटक जिल्ला भित्रिने गरेको होटल अन्नपूर्णका सञ्चालक ढोलराज पौडेल बताउँछन्।

– रासस

लप्सीफेदी सबस्टेसनको काम ४० प्रतिशत सकियाे, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडाैं । काठमाडाैंकाे शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ।

तामाकोसी तथा सुनकोसी नदी र तिनका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको हो।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना लगायत, स्थानीयको जग्गा अधिकरण र मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीय अहिले पनि विरोधमै छन्।

निर्माणाधीन खिम्ती–बाह्रबिसे-लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरण रहने भवनलगायतका सिभिल संरचना निर्माण करिब ४० प्रतिशत सकिएको छ। सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरण आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ।

तामाकोसी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचना निर्माण ५० प्रतिशत सकिएको छ। उपकरण आपूर्ति ९८ प्रतिशत भइसकेको छ। सिभिल संरचना निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणको जडान सुरु हुनेछ।

तामाकोसी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिनेछ।

प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा गरिएको छ। करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ।

त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ।उक्त टावरहरु लप्सीफेदी क्षेत्रमै पर्दछन्। करिब ४२ किलोमिटर तार तानिएको छ। तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको हो।

हुम्ला र मुगुमा फाेरजी सेवा, भिडियाे कल गर्न पाएपछि नागरिक दङ्ग

हुम्ला । वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन्।

विसं २०७३ पुस १७ गतेदेखि नेपाल टेलिकमले काठमाडौँ र पोखराबाट फोरजी सुरुआत गरेको जनाइएको छ।

यस अघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरीरहेका त्यहाँका नागरिक आजदेखि  घरघरको कुनैमै बसेर भिडियोकल गर्न पाएपछि खुसीको सिमा नै नरहेको हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ५ का सिंह बोहराले बताए।

दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ।

गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए।

गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले आजबाट आफ्नो गाउँपालिकाको केन्द्र नजिकै रहेको लामाकाँधमा राखिएको ‘फोरजी’को टावर सञ्चालनमा आएको र यसले गाउँपालिका भित्रका कुन कुन बस्तीमा यसले काम गरेको छ जानकारी दिन सबैलाई अनुरोध समेत गर्नु भएको छ।

उनका अनुसार फोर जी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरन्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने बताए।

सोरु गाउँपालिका वडा नम्बर ३ को लामाकाँधमा राखिएको टावरले सोरु गाउँपालिकाका केही बस्तीहरु र हरम्लाको ताँजाकोट, सर्केगाड, र अददानचुली गाउँपालिकाका अधिकांश बस्तीहरुमा आज दिउँसोबाट सञ्चालन सुरु गरेको छ भने अदानचुली च्याममा राखिएको टावर भोली(शनिबार) दिउसो १ बजेबाट सञ्चालनमा आउने टावर निर्माणको जिम्मा पाएका अदानचुली गाउँपालिका वडा नम्बर ५ का दृघ सिंहले जानकारी दिए।

च्याममा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुँने छ भने अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग अर्थात महतारा चौरमा निर्माणधिन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचनारु हुँने नेपाल टेलिकम हुम्ला रिन्जिन लामाले बताए।

जिल्ला सदरमुकामबाट निकै दुर्गम गाउँमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै खुसी छन् । आजदेखि टावरको निर्माण पूरा भएसँगै यस क्षेत्रका घर घरमा फोरजी चल्न थालेको अदानचुली गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए।

‘दुई वर्ष देखिको निरन्तर प्रयासका बाबजुत आजबाट सञ्चालनमा ल्याउन सफल भएकोमा निकै खुसी ब्यक्त गर्दै अब कदमकदाचित ओर्डलिंक र एभरेष्टको टावर डाउन भएपनि आफुहरुको काम अबरोध नहुँनेमा ढुक्क छौं,’ अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका अम्मर रावल भन्छन्, ‘यसअघि यहाँका बासिन्दा मोबाइलमा कुरा गर्न पनि कता अग्लो डाँडा छ भनेर खोज्दै हिँड्थे । अहिले  भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छौँ । यसले निकै सुबिस्ता भएको अनुभव भइरहेको छ । अहिले देश तथा विदेशमा रहेका आफन्तसँग भिडियो कल गर्न पाएका छौँ । निकै खुसी लाग्यो।’

गाउँमा फोरजीसम्मको सेवा पुर्‍याउन गाउँपालिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । गाउँबस्तीमा फोरजी चल्न थालेपछि अहिले यहाँका स्थानीयलाई स्थानीय सरकार घरमै पुगेको महसुस भएको पनि रावलले बताए।

पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला अदानचुली गाउँपालिकाका अध्यक्ष सिंहले बताए।

‘मैले निरन्तर दवाब दिएकाले यसले छिटो निकास पाई सञ्चालनमा आएको हो,’ उनले भने।

यस्तै सोरु गाउँपालिकाको लामाकाँधमा राखिएको टावर सञ्चालनमा नआए हुम्लामा सञ्चालनमा नआउने भएपछि सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीलाई निकै छिटो सञ्चालनमा ल्याउनै पर्ने बाध्यता थियो सोही अनुसार आफू पनि भागेका ठेकदाहरुलाई ल्याउन र छिटो काम सञ्चालनमा ल्याउने दुई वर्ष लागेको बताए।

‘अब हरेक गाउँमा फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्न सकिने छ,’ उनले भने।

-रासस

२ वर्ष भित्र सक्ने लक्ष्यका साथ म्याग्दीकाे एउटै वडामा तीन हाइड्राेकाे निर्माण सुरू

म्याग्दी । २ वर्ष भित्र सक्ने लक्ष्यका साथ म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा तीनवटा जलविद्युत् अयोजना निर्माण सुरू भएको छ । धैलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट एक सय ५५ मेगावाट क्षमताको तीन जलविद्युत् आयोजना निर्माण सुरू भएका हुन् ।

ऊर्जा डेभलपर्स प्रालिअन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पूर्वाधार सुरू गरेको छ भने हाइड्रो भिलेज प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माणलाई तीव्रता दिएको छ ।

त्यसैगरी हाइड्रो इम्पायर प्रालि प्रवर्द्धक रहेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत सुरूङ निर्माणको तयारी गरेको छ । म्याग्दी नदीसँगै यसका सहायक गुर्जाखोला र मुदी खोलामा विभिन्न आठ वटा जलविद्युत् आयोजना दर्ता भएकोमध्ये तीन वटा आयोजनाको निर्माण काम अघि बढेको धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।

“जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढेसँगै दुर्गम बस्तीमा सडकको पहुँच विस्तारमा समेत सघाउ पुगेको छ, हामीले आयोजनामा स्थानीय जनशक्तिलाई समेत प्राथमिकता दिएर काममा अवसर दिन र सामाजिक क्षेत्रमा गर्नुपर्ने उत्तरदायित्वका कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भने ।

मुदीको खाम्लामा बाँध र मालिका गाउँपालिका–७ भारवाङमा विद्युत्गृह रहने अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण सकेर सुरूङ र बाँधतर्फका पूर्वाधार निर्माण सुरू गरेको छ । विसं २०८१ वैशाख २८ गतेदेखि पुर्वाधार निर्माण गर्न सुरू गरेको आयोजनाले कूल पाँच किलोमिटर सात सय मिटर सुरूङमध्ये पाँच सय ३० मिटर सुरूङ निर्माण सकिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।

उनका अनुसार यस आयोजनाको बाँध, सुरूङ र विद्युतगृहतर्फ अहिलेसम्म करिब १७ प्रतिशत निर्माण कार्य पूरा भएको छ । मुदीकै दोभानमा बाँध र जेल्टुङमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले विद्युत्गृहको पहुँचमार्ग निर्माण गरेको छ । नाउरादेखि छ किलोमिटर दूरीमा पर्ने जेल्टुङमा विद्युत्गृहको लागि पूर्वाधार बनाउने र सुरूङ निर्माणको तयारी गरिएको छ । सुरूङ निर्माण र विद्युत्गृहदेखि बाँधतर्फको ११ किलोमिटर सडकको पहुँच विस्तारको काम एकैसाथ अघि बढाउने तयारी गरिएको आयोजना प्रमुख केसीले बताए।

मुदीमै निर्माण हुन लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले समेत पहुँच मार्ग निर्माण सकेर सुरूङ निर्माणको तयारी गरेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तिले जानकारी दिए। आयोजनाका अनुसार, पहुँचमार्ग, क्याम्प साइटलगायतका पूर्वाधार निर्माण सकिएको र बगर गाउँको पुछारमा रहने बाँध र नाउरामा रहने विद्युत्गृहबाट सुरूङ खन्ने तयारी गरिएको छ । जलविद्युत् आयोजना भित्रिएसँगै दुर्गम बस्तीको रूपमा रहेका खाम्ला, नाउरा, खिबाङ बगरलगायतका बस्तीमा सडकको पहुँच पुगेको छ ।

तनहुँकाे भदुरडाँडामा १९ करोड लागतमा खानेपानीकाे याेजना

तनहुँ l सदरमुकाम दमौलीदेखि करिब तीन किलोमिटर पूर्वमा छ, व्यास नगरपालिका–१ भदु्रडाँडा। चारैतिर वनजङ्गलले घरिएको यस ठाउँमा सानो मानवबस्ती छ, जहाँ दलित समुदायका दश परिवारको बसोबास छ। आफ्नो उब्जनी र रोजगारीको कुनै अवसर नभएका यी परिवारले दिनभर ज्यालामजदुरी गरेर छाक टार्दै आएका छन्। यो समस्या त छँदैछ, जङ्गल क्षेत्रमा भएर पनि स्थानीयले सामना गर्नुपरेको अर्को समस्या हो, खानेपानीको चरम अभाव।

स्थानीय हस्तबहादुर नेपालीले भने,“बस्तीदेखि रहेको खोल्साबाट पानी ल्याएर काम चलाइरहेका छौँ। करिब १५/२० मिनेट उकालीओराली गरेर पानी बोक्नुपर्ने बाध्यता बस्ती बसेदेखि कै हो।”

उनले चैत वैशाखमा त्यो पानी पनि सुक्ने भएकाले थप समस्या हुने गरेको सुनाए। “चैत र वैशाख महिनामा खानेपानीको मुहान सुक्ने हुँदा झनै कठिनाइ भोग्नुपरेको छ”, उनले भने,“ जङ्गलको बाटो हुँदै पानी लिन जानुपर्ने भएकाले वन्यजन्तुको पनि त्यस्तै डर छ।”

यही समस्या समाधानका लागि यस क्षेत्रमा खानेपानी विस्तारको योजना अगाडि बढेको छ। व्यास–१ स्थित भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा मादीनदी लिफ्ट खानेपानी योजनाअन्तर्गत उक्त बस्तीमा पनि खानेपानी विस्तार योजना अगाडि बढेको हो। बस्ती बसेको एकाउन्न वर्षपछि भदु्रडाँडाका घरघरमा खानेपानी विस्तार गर्ने गरी योजना अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन्।

यहाँ ५० हजार लिटर क्षमताको ‘रिजर्भ’ टयाङ्की निर्माणका लागि ट्याङकीको बेस ढलान सम्पन्न गरी अन्य कार्य भइरहेका छन्। सोही योजनाअन्तर्गत यसअघि व्यास–१ अमिली भञ्ज्याङमा दुई लाख लिटर क्षमताको रिजर्भ टयाङ्की निर्माण भइसकेको छ। सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।

“बस्ती विस्तारसँगै खानेपानीको समस्या हुने गरेकाले मादीनदी लिफ्ट योजना अघि बढाइएको हो”, उनले भने,“यो योजना सम्पन्न भएपछि वडावासीलाई सहज हुने विश्वास गरिएको छ।” श्रेष्ठका अनुसार विसं २०७९ भदौमा रु १९ करोडको लागतमा पराजुली कन्स्ट्रक्सनसँग सम्झौता भई काम अगाडि बढाइएको छ।

विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि निर्माण कार्यमा ढिलाइ हुँदा योजना सम्पन्न हुनसकेको छैन। संस्थाका अध्यक्ष चिजबहादुर दरैले आवश्यक सहजीकरणपछि पछिल्लो समय निर्माण कार्यले गति लिएकाले छिट्टै कार्यसम्पन्न हुने बताए। विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट पानी वितरण सुरुआत गरेकामा हाल संस्थाले सानाठूला गरी चारवटा योजनाबाट दुई हजार ६८० निजी धारा जडान गरी पानी वितरण गर्दै आइरहेको छ।

– रासस

किमाथाङ्का सडकमा सांसदहरुको चासाे

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले किमाथाङ्का सडकको अनुगमन गरेका छन्। राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति र सदस्यहरूले कोशी करिडोरको सडक अनुगमन गरे ।

समिति सभापति सोनाम गेल्जेन शेर्पा, सदस्यहरू किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारीहरू उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की सडक अनुगमन निस्किएका हुन् ।

उनीहरूले खाँदबारी– किमाथाङ्का   सडकअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण बजारसम्म सडक निर्माणको अवस्थाबारे जानकारी लिए। खाँदबारीबाट ८० किमी दूरीमा रहेको बरुण खोलासम्म सडक अनुगमन गरेका थिए । बरुण बजार भन्दा माथि किमाथाङ्का  सम्म पुग्न सडकको अवस्था राम्रो नभएकाले बरुण खोलासम्म मात्रै अवलोकन गरेको बताइएको छ ।
कुल १ सय ६२ किलोमिटर रहेको खाँदबारीदेखि किमाथाङ्का  सम्म सडक निर्माणाधीन अवस्थामा छ ।

सरकारले २०६६ देखी उत्त निर्माण थालेको भए पनि गत माघ १ गते मात्रै सडक छिचोलिएको हो ।

अर्थले बजेट व्यवस्था गरेसँगै बिपी राजमार्ग निर्माणको बाटो खुल्यो

काठमाडौँ ।  गत असोजको बाढी पहिरोबाट प्रभावित भएको आयोजनाहरूको पुनर्निर्माणका लागी  अर्थ मन्त्रालयले आवश्यक बजेटको स्रोत सुनिश्चित गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट माग भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति भएको हो । अर्थले क्षतिग्रस्त पूर्वाधारहरूको निर्माणमा स्रोत जुटाएसँगै पूर्व जाने छोटो मार्ग बिपी राजमार्ग लगायतका सडकहरू निर्माणको बाटो खुलेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ४ फागुनमा माग भई आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरू पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन् ।

२६ वटा आयोजना मध्ये १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना छन् ।